
लन्डन । किरात धर्मलम्बीहरुको महागुरु १६ औँ राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १४१ औ जन्मजयन्ती तथा चासोक तङनाम शनिवार लन्डनको फेल्थाममा धुमधामका साथ सम्पन्न भएको छ ।
किरात सत्याहाङमा महागुरु फाल्गुनन्द समाज यूकेको आयोजनामा किरात धर्म गुरु फाल्गुनन्दको सम्झाना र सम्मान स्वरुप विविध कार्यक्रम गरी धुमधामका साथ जन्मजयन्ती तथा चासोक तङनाम सम्पन्न भएको हो । कार्यक्रमको पहिलो चरणमा महागुरु फाल्गुनन्दको जन्म जयन्तीको पुजा अर्चना तथा चासोक तङनाम पुजा सम्पन्न भएको थियो । कार्यक्रममा महागुरु फाल्गुनन्दको फोटोमा कार्यक्रमको प्रमुख अतिथी किरात याक्थुङ चुम्लुङको अध्यक्ष कमला लिम्बु, किरात सत्याहाङमा महागुरु फाल्गुनन्द समाज यूकेका अध्यक्ष रुद्रकुमार तुम्बापो र युमा कल्पना मेन्याङबोले संयुक्त रुपमा दीप प्रज्वलन तथा माल्यर्णपन गरेका थिए ।
कार्यक्रममा महागुरुको सम्झानामा एक मिनेट मौनधारणा समेत गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष हेमकुमार तुम्बापोले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका संस्थापक अध्यक्ष दिल सम्बाहाम्फेले प्राकृतिक पुजक किरातीहरुको चाड चासोक तङनामको बारेमा छोटो टिप्पणी गरेका थिए । कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघ बेलायतका उपाध्यक्ष निर्मल पतङ्वा, ब्राक्नेल नेपाली समाजका संस्थापक अध्यक्ष विनोद अधिकारीले समेत शुभकामना सन्देश दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी किरात याक्थुङ चुम्लुङ बेलायतका अध्यक्ष कमला लिम्बुले समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको १४१ औं जन्मजयन्ती तथा चासोक तङनामको शुभकामना दिएकी थिइन । कार्यक्रमको बिशेष अतिथीमा पुर्व सभासद माननीय तारा राई रहनु भएको थियो । कार्यक्रममा वेल्स गोर्खा नेपलिज सोसाइटीका अध्यक्ष बद्री योङया, गोर्खा वेल्फेयर सोसाइटी बेलायतका अध्यक्ष गञ्जा आलेको समेत उपस्थिती रहेका थिए । किरात सत्याहाङमा महागुरु फाल्गुनन्द समाज यूकेको अध्यक्ष रुद्रकुमार तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव किशोर आङदेम्बेले गरेका थिए । कार्यक्रमको अन्त्यमा माङ्लाङग नृत्य समेत प्रस्तुत गरिएको थियो ।
विसं १९४२ कात्तिक २५ गते इलामको इभाङ ५ चुक्चिनाम्वा भन्ने ठाउँमा फाल्गुनन्द जन्मिएका थिए । महागुरु फाल्गुनन्दको जन्म जयन्ती प्रत्येक बर्ष नेपाल लगायत विभिन्न देशहरुमा मनाइदै आएको छ ।
विशेष गरी किरात धर्मावलम्बीहरू बसोबास रहेको नेपालको विभिन्न भू–भाग, भारत, भुटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबई, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त the राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, साइप्रस लगायतका मुलुकमा जन्म जयन्ती मनाउदै आएका छन ।
विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका फाल्गुनन्दलाई किरात धर्मालम्बिहरुले भगवानको रूपमा पूजाआजा गर्ने गरेको छ ।
समुदायमा रहेको सामाजिक विसङ्गति, विकृतिले गाँजेको भयावह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले विक्रम सम्बत १९८८ वैशाख २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’ का समाजका वरिष्ठ ब्याक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजिक लेब्रे कुटीमा उनले सत्य धर्म मुचुल्का बनाएर त्यसलाई लागु गर्न भनेका थिए ।
फाल्गुनन्दले किरात सामाजिक मुन्धुम (शास्त्र)को प्रतिपादन, धर्म, भाषा, साहित्यको प्रचार प्रसार, बलि पूजाको अन्त्यका लागि अभियान शुरु, धर्म, संस्कृतिको पुनरुत्थानजस्ता कार्यहरू गरेका थिए । समाज सुधारको उनको योगदानको कदर गर्दै बिस २०६६ साल मङ्सिर १६ गते सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।








