बेलायतमा महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्ती तथा चासोक तङ्नाम भव्य रूपमा सम्पन्न

बेलायत। १६औँ राष्ट्रिय विभूति तथा किरात धर्मका महान् समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४२औँ जन्मजयन्ती तथा किरात समुदायको महान् पर्व चासोक तङ्नाम पूजा कार्यक्रम बेलायतको फेल्थाममा भव्य रूपमा सम्पन्न भएको छ।

किरात सत्यहाङ्मा महागुरु फाल्गुनन्द समाज यूकेको आयोजनामा १४ नोभेम्बर २०२६ मा सम्पन्न उक्त कार्यक्रममा माङ सेवा (पूजा) सहित महागुरु फाल्गुनन्द लिङ्देनज्यूको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्ज्वलन गरिएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका अध्यक्षले संयुक्त रूपमा माल्यार्पण र दीप प्रज्ज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो।

 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा किरात याक्थुङ चुम्लुङ यूकेका उपाध्यक्ष दीपेन्द्र यक्सोको उपस्थिति रहेको थियो। त्यसैगरी विशेष अतिथिका रूपमा किरात याक्थुङ चुम्लुङ अक्सफोर्डशायर शाखाकी अध्यक्ष नन्दा चेम्जोङ तथा अतिथिहरूमा किरात राई यायोक्खाका वरिष्ठ उपाध्यक्ष प्रसादकुमार राई र तारा राईको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा उपस्थित अतिथि वक्ताहरूले महागुरु फाल्गुनन्द लिङ्देनज्यूको जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले पूर्वी किरात समुदायको धार्मिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक जागरणका क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको चर्चा गर्नुभएको थियो। उहाँहरूले महागुरुले देखाउनुभएको सत्य, अहिंसा, नैतिकता, सामाजिक सुधार र मौलिक संस्कृतिको संरक्षणसम्बन्धी मार्गदर्शनलाई वर्तमान पुस्ताले समेत आत्मसात् गर्नुपर्नेमा जोड दिनुभएको थियो।

 

यसै अवसरमा संस्थाप्रति पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै किरात सत्यहाङ्मा महागुरु फाल्गुनन्द समाज यूकेका वर्तमान अध्यक्ष श्री रुद्रकुमार तुम्बापोलाई सम्मानपत्र प्रदान गरिएको थियो। प्रमुख अतिथि दीपेन्द्र यक्सो तथा युमा प्रतिनिधिले संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्नुभएको थियो।

 

कार्यक्रमको सञ्चालन किशोर आङ्देम्बेले गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष हेम तुम्बापोले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष रुद्रकुमार तुम्बापोले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथिगण, समाजका अग्रज व्यक्तित्व, सहभागी तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

 

महागुरु फाल्गुनन्द लिङ्देनज्यूको विचार, दर्शन र योगदानलाई स्मरण गर्दै किरात धर्म, संस्कार, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले बेलायतमा रहेका किरात समुदायबीच धार्मिक, सांस्कृतिक एकता, सद्भाव र आपसी भाइचारालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार