
संसदबाट एमसीसी अनुमोदन भएपछि सत्तारुढ नेकपा माओवादी केन्द्र विभाजनको डिलमा पुगेको छ। एमसीसी अनुमोदनमा समर्थन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही नेताहरुले माओवादी केन्द्र छाड्ने तयारी गरेका छन्।
परिस्थितिले नाटकीय मोड नलिए माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेलसहितका केही पूर्व स्थायी समिति सदस्यहरु बाहिरिने छन्। फागुन २० गते डाकिएको केन्द्रीय समिति बैठकसम्म कुर्ने, त्यहाँ आफ्ना कुरा राख्ने र अनि बाहिरिने उनीहरुको योजना छ।
महाधिवेशनको निर्णयविपरीत एमसीसी अनुमोदन गराएको भन्दै श्रेष्ठसहितलाई नयाँ पार्टी बनाउन तल्लो तहका नेताहरुले तीव्र दबाब दिएपछि यस्तो छलफल चलेको हो। केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज जीवन गौतमले केन्द्रीय समिति बैठकमा आफ्ना कुराहरु राख्ने बताउँदै त्यहाँ सम्बोधन नभए नयाँ पार्टी निर्माणमा लाग्नुपर्ने निष्कर्षमा पुगेको बताए।
फागुन १५ गते बसेको संसद बैठकबाट करिब ५५ अर्ब बराबरको एमसीसी अनुदान सम्झौता र १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ अनुमोदन भएको थियो। त्यसप्रति वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले तीव्र असन्तुष्टि जनाएका थिए।
‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराइ छाडे,’ श्रेष्ठले आइतवार साँझ सामाजिक सञ्जालमा भनेका थिए, ‘आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔं, नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ।’
त्यही दिन केही नेताहरुले उनलाई नयाँ पार्टी बनाउन सुझाव दिएका थिए। बेलुका साढे नौ बजेपछि भएको जुम बैठकमा सहभागीहरुले एमसीसीका पक्षमा माओवादीले मत हालेर गलत गरेको भन्दै नयाँ पार्टी बनाउन सुझाव दिएको एक नेताले बताए। त्यस भर्चुअल बैठकमा डेढ सय बढी सहभागी थिए।
‘भर्चुअल बैठकमा नारायणकाजी श्रेष्ठले विशिष्ट अवस्था आएको छ, के गरौं भनेर सुझाव माग्नुभयो,’ बैठकमा सहभागी एक केन्द्रीय नेताले नेपालखबरसँग भने, ‘राष्ट्रघातको टीका लगाएर बस्नु हुँदैन, नयाँ पार्टी बनाऔँ भनेर सुझाव दिइएको छ।’
केही केन्द्रीय नेताहरुले भने केन्द्रीय समिति बैठक कुर्न पनि सुझाव दिए। माओवादीले पदाधिकारी चयन गर्न फागुन २० गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ। माओवादीको केन्द्रीय सदस्य संख्या २ सय ४६ छ।
केन्द्रीय समिति बैठकमै एमसीसीको विषयमा छलफल गर्ने निष्कर्षमा पुगेका श्रेष्ठसहितका नेतालाई सोमबार अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिले झस्काएको छ। सोमबार प्रचण्डले पत्रकार सम्मेलनमा नेता श्रेष्ठको नामै लिएर पार्टीमा भएको निर्णयविरुद्ध बाहिर लेखेकोमा आपत्ति जनाएका थिए।
‘यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछन्, केन्द्रित हुन्छन्, जनता ह्वार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रुपमै बोलिदिनु भएछ,’ खुमलटारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डको भनाइ थियो, ‘नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसीविरुद्ध मुर्दावादका मुर्दावाद गरेका छन्। उनकै पछि सारा नेपाल लाग्नुपर्ने नि, एमसीसीको विरोध गरेकै भरमा ठूलो पार्टी हुने भए, भोट आउने भए किन प्रेमजीको भएन?’ यही अभिव्यक्तिपछि श्रेष्ठनिकटहरु प्रचण्डप्रति असन्तुष्ट छन्।








