
चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भरतपुरस्थित होटल सिराइचुलीमा करिब १० मिनेट लामो संवादका क्रममा उम्मेदवार पौडेलले आफू चुनावी अभियानमा होमिइसकेकाले पछि हट्नै नसक्ने अवस्था रहेको बताएका हुन्।
भरतपुरमा बिहीबार सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीच वार्ता भएको हो। उक्त वार्तामा जगन्नाथसँगै, मीना खरेल र कृष्णलाल सापकोटा पनि पुगेका थिए।
जगन्नाथलाई मेयरको उम्मेदवारमा खरेल समर्थक र सापकोटा प्रस्तावक छन्। तर जगन्नाथसहित उनीहरु तीनैजनालाई कांग्रेसले निष्काशित गरिसकेको छ। ‘हामीले पुरानै अडान राखेका छौँ। यहाँ कांग्रेसले मेयर पाउनुपर्छ भन्ने मेरो कुरा हो’, भेटबारे उम्मेदवार पौडेलले भने, ‘यदि मैले पछि हट्नुपर्छ भने रेनु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ। त्यसपछि यहाँ कांग्रेस आफैंले मेयरमा लड्नुपर्छ। यदि त्यसो हुन्छ भने म पछि हट्न तयार छु।
उता वरिष्ठ नेता पौडेलले देशभर गठबन्धन बनेको अवस्थामा यहाँबाट पछि हटिदिन जगन्नाथलाई भनेका थिए। तर जगन्नाथले आफूले भनेर अब केही नहुने बताएका थिए।
‘मैले भनेर अब केही हुँदैन। यहाँ मेरो अघिपछि हजारौँ कार्यकर्ता छन्। मलाई पछि हट्नु भन्दा पनि कांग्रेसले रेनुलाई सघाउने निर्णय फिर्ता लिनु उचित हुन्छ’, उनले भेटमा भने, ‘म त चुनावी अभियानमा गइसकेको छु। अहिले पनि तपाईंलाई भेट्न चुनावी अभियानबाटै आएको हो। मलाई समय पनि छैन। म घर दैलो अभियानमा निस्किएँ, अब मलाई फिर्ता गर नभन्नु होला।’
यति भनेर सिराइचुलीबाट निस्किएका जगन्नाथ र कांग्रेसका अन्य कार्यकर्ताको टोली अहिले भोट माग्दै भरतपुरको ज्योतिनगर टोलमा पुगिसेकको छ। उता कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलसहित चुनावीसभालाई सम्बोधन गर्न हिजै भरतपुर उत्रिएका छन्। स्रोतका अनुसार पौडेल र सभापति देउवाबीच संवाद भएको छैन।








