प्रभावित क्षेत्रलाई मुआब्जा र शेयर सुविधा उपलब्ध गराउन टेम्केमैयुङको माग

  सिलिचुङ सम्बाददाता

 

प्रजिअ बासुप्रसाद कोईरालालाई मागपत्र बुझाउँदै टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत । तश्विर, सिलिचुङ

 

भोजपुर । तल्लो अरुण जलविद्युत आयोजनाबाट टेम्केमैयुङ गाउँपालिकाले प्रभावित क्षेत्रलाई मुआब्जा र शेयर सुविधा उपलब्ध गराउन माग गरेको छ । ६ सय ७९ मेघावट क्षमताको आयोजनाको टीएल टावर र ट्रान्समिसन लाईनले प्रभावित पार्ने क्षेत्रमा गाउँपालिकाले पाउनुपर्ने सुविधा माग गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुर मार्फत माग पत्र बुझाएको छ ।
उक्त माग पत्र प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोईरालालाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । माग पत्रमा पालिकाका प्रत्येक घरधुरीलाई दुई हजारका दरले शेयर कित्ता दिनुपर्ने, ट्रान्समिसन टावर रहने ठाउँमा ७ रोपनी प्रभावित क्षेत्र कायम गरी उचित मुआब्जा उपलब्ध गराउनुपर्ने, ट्रान्समिसन टावरमुनी पर्ने घर तथा चौडा जग्गा प्रभावित ८० मिटर सम्म प्रभावित क्षेत्र कायम गरी उचित मुआब्जा उपलब्ध गराउनुपर्ने जस्ता माग उल्लेख छ ।
एकसय गन्तव्यभित्र पर्ने मुन्दुम पदमार्ग लगायत अन्य पर्यटकीय क्षेत्रलाई प्रत्यक्ष प्रभावित पारेको र ट्रान्समिसन लाईनले पालिकाको केन्द्र हुँदै खेतीयोग्य उर्वर भुमिका साथै मध्य पहाडी लोकमार्ग आसपासका जग्गाहरु प्रभावित हुने भएकाले अन्य पालिकाहरुभन्दा टेम्केमैयुङ गाउँपालिकाले मुआब्जा माग गर्न उचित रहेको अध्यक्ष बस्नेतले मागपत्रमार्फत भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार