फेरि मुख्यमन्त्री बन्न भन्दै भोट मागेका राजेन्द्रलाई गठबन्धन दलका प्रभावशाली नेता तगारो बन्दै

भोजपुुर । भोजपुरको विकासका लागि आफू जितेर गएर पुनः मुख्यमन्त्री बन्ने दाबीसहित भोट मागिरहेका राजेन्द्रकुमार राईलाई गठबन्धनका प्रमुख घटक कांग्रेस र माओवादीका प्रभावशाली नेताले नै छेक्ने तयारीमा लागेका छन् ।

 

विशेषगरी नेपाली कांग्रेसका प्रदेशमा उठेका प्रभावशाली नेता आफूहरूले काँध थापेर चुनाव पनि जिताएपनि मुख्यमन्त्री बनाउन नसकिने भन्दै असन्तुष्ट देखिएका हुन् ।

 

मतदानको दिन नजिकिँदै गर्दा सत्तागठबन्धनबाट दल र व्यक्ति समेतले संघदेखि प्रदेश सरकारको नेतृत्वका लागि आ–आफ्ना दाबी पेस गरिरहेका छन् । जसबाट मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई पुनः मुख्यमन्त्री बन्नका लागि चुनौती बनेको छ । गठबन्धनमा रहेका मुख्य दल कांग्रेस, माओवादी र नेकपा एसका नेता मुख्यमन्त्री बन्ने उद्घोषका साथ चुनावी मैदानमा होमिएपछि राजेन्द्रकुमार राईलाई पुनः मुख्यमन्त्री बन्ने कुरामा धक्का लाग्ने देखिएको छ ।

 

हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुर प्रदेशसभा १ मा उम्मेदवार बनाएको छ । नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेका राईलाई पुनः मुख्यमन्त्री बनाउने भनेर गठबन्धनमा रहेका दलहरूले जिल्लामा प्रचार गरिरहेका छन् । राजेन्द्र माधवकुमार नेपालका विश्वासपात्रमध्येका हुन् ।

 

राईले आफू पुनः मुख्यमन्त्री बन्ने र भोजपुरको विकास गर्ने आश्वासनसहित मत दिन आग्रह गरिरहेका छन् । आफू मुख्यमन्त्री हुँदा जिल्लामा गरेका कामको विवरण पनि उनले मतदातामाझ पेस गरेका छन् ।

 

दुई दिनअघि भोजपुर नगरपालिका–१ स्थित भाम्राङ्गस्थित सिंहदेवी प्राविमा भएको चुनावी कार्यक्रममा राईले भने, ‘मैले जितेँ भने मुख्यमन्त्री बन्छु । मुख्यमन्त्री भएपछि भोजपुरको विकास हुन्छ ।’

 

प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ सीट छ । सत्तागठबन्धनमा प्रदेशका क्षेत्र भागबण्डा हुँदा नेकपा एसले ११ क्षेत्र पाएको छ । तर, सहयात्री दलका प्रभावशाली नेता थोरै सीटमा चुनाव लडेको पार्टीलाई मुख्यमन्त्री दिन नसकिने भन्दै आफ्नो दाबेदारी पेस गर्न थालेका छन् ।

 

नेपाली कांग्रेसका ७ र माओवादीका एकजनाले सशक्त दाबी पेस गरिरहेका छन् । नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले भने, ‘राजेन्द्रजीले मुख्यमन्त्री भनेर भोट माग्न पाउनु हुन्छ । चुनावपछि पनि गठबन्धनकै सरकार बन्छ, प्रदेश १ कुन दलको भागमा पर्छ त्यसैका आधारमा मुख्यमन्त्री बन्ने हो । ’

 

उनले ठूलो दल भएकाले नेपाली कांग्रेसले मुख्यमन्त्री दाबी गर्ने बताए । उनी आफैँ पनि कांग्रेसका तर्फबाट मुख्यमन्त्रीको दौडमा रहेको बताए । उनीबाहेक कांग्रेसबाट मुख्यमन्त्रीका लागि ६ जना दौडमा छ ।

 

कांग्रेसबाट प्रदेश १ नेपाली कांग्रेसका पूर्वसंसदीय दलका नेता राजिव कोइराला, पूर्व उपनेता हिमाल कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, प्रभावशाली नेता गुरुराज घिमिरे दौडमा छन् ।

यस्तै विराटगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुली र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की पनि मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन् ।

 

गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो पनि मुख्यमन्त्रीको रूपमा भोट माग्दै मतदाताकोमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार