
लन्डन । संखुवासभा तमु समाज बेलायतले ल्होसार कार्यक्रम सम्पन्न गरेको छ । लन्डनको फेल्थाम कम्यूनिटी हलमा शनिवार समाजले ल्होसार कार्यक्रम सम्पन्न गरेको हो ।
कोभिड १९ को महामारीपछि संखुवासभा तमु समाज तोल्हो (बाघ वर्ग) लाई विदाई र हिल्हो (विरालो बर्ग) लाई स्वागत गर्दै आपसमा शुभकामना आदनप्रदान गर्दै ल्होसार मनाएका हुन ।
संखुवासभा घर भई बेलायत बसोबास गर्ने गुरुङ समुदायहरुको ल्होसार कार्यक्रममा उपस्थिती रहेको थियो । संखुवासभा तमु समाज बेलायतका अध्यक्ष अमृत घोन्डेको सभापतिमा सम्पन्न भएको कार्यक्रममा समाजका उपाध्यक्ष मणीकुमार गुरुङले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा समाजका पुर्व अध्यक्ष रामचन्द्र गुरुङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सल्लाहकार गोकर्ण गुरुङ र नैनसिं गुरुङले मन्तब्य राखेका थिए ।
कार्यक्रममा स्रष्टा स्वर्गीय खेमराज गुरुङ ट्रस्टका अध्यक्ष जीवन गुरुङ र संरक्षक चञ्चला गुरुङले ट्रष्टका दाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा सिक्किमबाट आउनुभएका बौद्ध गुरु टुल्कु रिम्पोछे साँङगे योन्तेन ग्याछो गुरुङले बौद्ध धर्म र ल्होसारसम्बन्धी प्रवर्चन दिएर दर्शन समेत दिनुभएको थियो ।बौद्ध लामा गुरुको सम्पुर्ण व्यस्थापनको संयोजन आमा समुहका अध्यक्ष तारा गुरुङले गरेकी थिइन ।

साँझ ६ बजेदेखि शुरु भएको औपचारिक कार्यक्रमलाई प्रमुख अतिथिले दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । दुई चरणमा आयोजित कार्यक्रमको औपचारिक कार्यक्रममा संस्थाका ४० जना आजिवन सदस्य, तमु समुदायका विद्यार्थी व्याचलर डिग्री उतिर्ण गर्ने कौशल गुरुङ, डाक्टर चन्द्र गुरुङ, बेलायत सेनामा बढुवा भएका क्याप्टेन राजकुमार गुरुङ, शाही एयर फोर्स अफिसर पवन गुरुङलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
अनौपचारिक कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमहरु गरिएको थियो । अनौपचारिक कार्यक्रमको सञ्चालन दीपा गुरुङ र विशाल गुरुङले गरेका थिए । फोटो पत्रकार बाबुराम गुरुङले कार्यक्रम अवधिभरको फोटो खिच्ने र साउण्ड सिस्टम अपरेट गरेका थिए ।
साँस्कृतिक कार्यक्रमको साथसाथै चिठ्ठा उपहार कार्यक्रम पनि आयोजना गरिएको थियो । स्थापनाकालदेखि हालसम्मकै सबैभन्दा ठुलो संख्यामा सहभागिता रहेको थियो । साँस्कृतिक कार्यक्रमबाट सहभागीहरुले भरपुर मनोरञ्जन गरेका थिए ।
कार्यक्रममा सहसचिव कमला गुरुङले उपस्थित दुई जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । बेलायतमा बस्ने संखुवासभाका तमुहरु ३ सय २ घर र ६ सय ५० जना संख्या रहेको छ । कार्यक्रममा बेलायतभरी बस्ने संखुवासभाका गुरुङ समुदायहरुको उपस्थिती रहेको थियो ।












