
काठमाडौं । अमेरिकाको दक्षिण एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार एक दिने भ्रमणका लागि काठमाडौं ओर्लिए । विमान बंगलादेशबाट काठमाडौं आइपुगेका उनी त्यसपछि दिनभरि राजनीतिक भेटघाटमा व्यस्त बने ।
अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको साढे १६ महिनापछि कार्यान्वयनको तयारीमा रहेको छ । सरकारले आगामी महिनाबाट एमसीसी पूर्ण कार्यान्वयनमा लैजाने बताउँदै आएको छ। एमसीसी परियोजना कार्यान्वयनमा जाने पूर्वसन्ध्यामा सहायकमन्त्री लु नेपाल आइपुगेका हुन् ।
छोटो समयको लागि काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्ता गरे ।
विशेषतः सत्तारुढ दलका नेतासँग उनले खुलरै एमसीसी परियोजनाबारे छलफल गरे। प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भएको भेटमा मन्त्री लुले एमसीसी परियोजनाको पूर्ण कार्यान्वयनबारे जिज्ञासा राखेका थिए । प्रधानमन्त्री दाहालले मन्त्री लुलाई एमसीसी परियोजना छिट्टै कार्यान्वयनमा जाने आवश्वासन दिएका थिए ।
’एमसीसीका कतिपय प्राविधिक कामहरू सकिएको छ । छिट्टै यो पूर्ण कार्यान्वयनमा जान्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । मन्त्री लुले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति श्रदाञ्जली अर्पणसमेत गरेका थिए ।
मन्त्री लुले शुक्रबार दिउँसो कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए। एमसीसी संसदबाट अनुमोदन हुँदा देउवा देशको प्रधानमन्त्री थिए । उनकै पहलमा विवादका बावजुद एमसीसी संसदबाट अनुमोदन भएको थियो। मन्त्री लुले सभापति देउवासँग एमसीसी परियोजनाले नेपाललाई विकास निर्माणमा सहयोग पुग्ने बताएका थिए । उनले नेपालले एमसीसीबाट पाउने अनुदानको सही सदुपयोग हुने अपेक्षा गरेका थिए । सभापति देउवाले त्यसका निम्ति अमेरिकी सरकारलाई धन्यवाद दिएका थिए ।
मन्त्री लुले आजै परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरे। भेटवार्तामा उनले एमसीसी कार्यान्वयनसँगै सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने बताएका थिए । उनीहरूबीच अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता, बढोत्तरी र दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
त्यस्तै लुले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग च्यासलस्थित एमालेको पार्टी कार्यालयमा भेटवार्ता गरेका थिए। मन्त्री लुले एमसीसी परियोजना कार्यान्वयनका निम्ति अध्यक्ष ओलीसँग सहयोग मागेका थिए। उनीहरूबीच द्विपक्षीय हितका विषयमा पनि छलफल भएको थियो।
विसं २०७७८ फागुन १५ गते संसद्ले ५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब नेपाली रुपैयाँ बराबर अनुदान रहेको एमसीसी परियोजना अनुमोदन गरेको थियो। एमसीसी परियोजनाका विषयमा नेपालमा चर्को विवाद चलिरहेका बेला डोनाल्ड लु विसं २०७८ मंसिर १ गते नेपाल भ्रमणमा आएका थिए। एमसीसी परियोजना अनुमोदनका लागि उनले नेपालका शीर्ष नेताहरूसँग लबिङ गरेका थिए ।
त्यसपछि अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुने विषयले पनि नेपालमा चर्को बहस सिर्जना भएको थियो। अन्ततः २०७९ असार ६ गते सरकारले सैन्य अभ्यासलगायतका विषय आबद्ध रहेको एसपीपी सहभागी नहुने निर्णय गरेको थियो। सरकारले यस्तो निर्णय गरेपछि मन्त्री लु एसपीपीलगायतका विषयमा छलफल गर्न विसं २०७९ मंसिर १२ गते नेपाल आएका थिए। उनको नेपाल भ्रमलाई राजनीतिक रूपले अर्थपूर्ण मानिन्छ ।
एमसीए नेपालका अनुसार एमसीसी परियोजनामा अहिलेसम्म दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । उक्त रकम, सम्भाव्यता अध्ययन, डिटेल डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), उपकरण खरिद,सवारीसाधन खरिद, कर्मचारीको तलब र कार्यालय व्यवस्थापनलगायतमा रकम खर्चिएको एमसीए नेपालका एक सदस्यले जानकारी दिए ।
(साभारःअन्नपूर्ण)








