भोजपुर । गत जेठ ३१ गते भोजपुरको टेम्कैमैयुङ गाउँपालिकाको लेखर्क र गोगनेस्थित स्थानीय राउते खोलामा मृत भेटिएका सब–इन्जिनियर मन्दिप राईको मृत्यू प्रकरणका ३ जना आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । उक्त घटनाका साक्षी ती आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।
मंगलबार विहान पक्राउ परेका स्काईभेटर अपरेटर सम्राट केसी, सह–चालक विष्णु भुजेल र पेटि ठेकेदार बालम राईलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी शरत कुमार थापा क्षेत्रीले बताए ।
मृतक राईको मृत्यू शंकास्पद देखिएपछि मृतक बाबु डा. ईश्वर कुमार राईको किटानी जाहेरी दिएपछि शंकास्पद रहेका उनीहरुमाथि अनुसन्धान थालिएको डिएसपी क्षेत्रीले बताए । पोस्टमार्टम र सिमेरा रिपोर्ट आउन बाँकी रहेको र उक्त रिपोर्ट आएपछि थप अनुसन्धानमा सहज हुने उनले बताए । घटनाको सत्यतथ्य बाहिर ल्याएर मात्र आरोपितलाई आवश्यक कारबाही अगाडी बढाउने उनले बताए ।
पिडित बाबु राईले घटनाका विषयमा खोजी अनुसन्धान गर्न गत असार १३ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । ‘मेरो छोराको मृत्यूको घटनाको वास्तविक तथ्य बाहिर आओस् र घटनाका दोषीहरु नउम्कियोस् भन्ने अन्तिम ईच्छा हो, सोहि अनुरुप मैले सम्पूर्ण शंकास्पद प्रमाण र तथ्यका आधारमा अनुसन्धानका लागि जाहेरी दिएको हुँ’ पिडित बाबु राईले भने । तर प्रहरी प्रशासनले उजुरीलाई वेवास्ता गर्दै घटनामा संलग्न आरोपितलाई आरक्षण दिएको भन्दै चौतर्फी विरोध आएपछि ती ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मृतक मन्दिप राईका बाबु डा. ईश्वरकुमार राईले दिएको किटानी जाहेरीसहितको प्रेस वक्तव्यः











