नेकपा (एमाले) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ । आज भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमा बसेको बैठकमा उपाध्यक्षहरूले पछिल्लो परिस्थितिको नैतिक जिम्मेवारी लिँदै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् । झण्डै छ घण्टासम्म चलेको बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले लिखित रूपमै ओलीको राजीनामा मागेको र अन्यले नेतृत्व पुनर्गठनको पक्षमा कडिकडाउ धारणा राखेको बताइएको छ ।
अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितिको ब्रिफिङ गरेपछि वरीयताका आधारमा नेताहरूलाई धारणा राख्न दिइएको थियो । अध्यक्षपछि बोलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो परिस्थितिको जिम्मा लिँदै ओलीले नेतृत्व छोड्न उपयुक्त हुने सुझाव दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकका लागि शीतल निवास जानुपर्ने भएकाले संक्षिप्त धारणा राखेका उनले सिधै राजीनामा नमागे पनि घुमाउरो ढंगले मार्गप्रशस्त गर्नु उपयुक्त हुने बताएका थिए । त्यसपछि क्रमश: बोलेका उपाध्यक्ष ज्ञवाली र शाक्यले लिखित धारणा राख्दै प्रष्ट शब्दमा राजीनामा मागेको बैठक स्रोतले बताएको छ । अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि अध्यक्षले मार्गप्रशस्त गर्नुपर्नेमै जोड दिएका थिए ।
स्रोतका अनुसार उपाध्यक्ष गुरुप्रसाद बराल र महासचिव शंकर पोखरेलबाहेक आज बोल्ने सबै सचिवालय सदस्यले ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए । जेन-जीको भावनालाई आत्मसात गर्दै नेतृत्व पुनर्गठन गरेर जानुपर्ने उनीहरुको मत थियो ।
‘परिस्थितिको बारेमा गम्भिरतापूर्वक छलफल भयो र यो घटनाको नैतिक जिम्मेवारी अध्यक्षले लिनुपर्छ भन्ने कोणबाट कुरा उठ्यो’, एकजना सचिवालय सदस्यले भने ‘भाषा र शब्द फरक भए पनि गुरुजी र शंकरजीबाहेक सबैको भनाइ अध्यक्षले अब मार्गप्रशस्त गर्नुपर्छ भन्ने नै बुझिन्थ्यो ।’
बराल र पोखरेलले भने अहिलेको प्रतिकूल अवस्थामा मूल नेतृत्वलाई असहयोग गर्ने कुराले पार्टी झन अप्ठेरोमा पर्ने भन्दै ओलीको प्रतिरक्षा गरेका थिए । देश-विदेशी शक्तिले पार्टी र नेतृत्वमाथि षड्यन्त्र गरिरहेको बेला अध्यक्षको राजीनामा माग्नु प्रत्युत्पादक हुने उनीहरुको धारणा थियो ।
वरिष्ठ उपाध्यक्षसहित सबैजसो उपाध्यक्षले नेतृत्व छोड्न भनेपछि ओली दबाबमा परेका छन् । तर, उनले आज बैठकमा भने कुनै प्रतिक्रिया जनाएनन्।
‘नेतृत्व परिवर्तनबारे गम्भीर ढंगले कुरा उठेको छ । सबैले खुलेर आफ्नो धारणा राखेका छन्’, एक सचिवालय सदस्यले भने, ‘अध्यक्षले यसलाई कसरी लिनुभएको छ त्यो थाहा छैन तर मुखै खोलेर राजीनामा माग्दा केही असहज महसुस गरेको बुझिन्थ्यो ।’
एमाले सचिवालय बैठक भोलि पनि बस्दैछ । आज बोल्न बाँकी उपमहासचिव पिएस गुरुङ, विष्णु रिमाल र सचिवहरुले भोलि धारणा राख्ने छन् ।