
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। उनले मंगलबार सार्वजनिक गरेको लामो वक्तव्यमार्फत आफू पार्टी नेतृत्वमा नयाँ ढंगले जिम्मेवारी बहन गर्न तयार रहेको संकेत दिएका हुन्।
पोखरेलले आफ्नो राजनीतिक जीवनभर इमान, निष्ठा र नैतिकताको मान्यतालाई कहिल्यै डगमगिन नदिएको उल्लेख गर्दै आफू विधि, समन्वय, सामूहिकता र सहकार्यमा आधारित नेतृत्व पद्धतिमा विश्वास गर्ने नेता भएको जिकिर गरे। उनका अनुसार देशभरका कार्यकर्ता तथा नेताको आग्रह र सुझावपछि नै उनले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने निष्कर्ष निकालेका हुन्।
ईश्वर पोखरेल एमाले नेतृत्वमा लामो अनुभव बोकेका नेता हुन! २०६५ सालमा बुटवलमा भएको आठौ महाधिवेशनबाट उनी महासचिव निर्वाचित भएका थिए। त्यसपछि नवौं महाधिवेशनमा पनि निरन्तर महासचिवका रूपमा पुनर्निर्वाचन भए। दशौं महाधिवेशनपछि भने उनी पार्टीको वरिष्ठ उपाध्यक्ष बने। लामो संगठनात्मक अनुभव, पार्टीभित्रको प्रभाव र अनुशासनका कारण उनी यसपालि अध्यक्ष पदका बलिया दावेदारमध्येकै रूपमा हेरिएका छन ।
पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिने गरिएको छ। यसअघि उनले भण्डारीकै उपस्थितिमा आयोजित आमसभामार्फत उम्मेदवारी घोषणा गर्ने तयारी भएको चर्चा थियो। तर अन्ततः उनले कुनै सार्वजनिक कार्यक्रम नगरी वक्तव्यमार्फत नै आफ्नो उम्मेदवारी औपचारिक बनाए। उनले महाधिवेशनलाई संगठनात्मक रूपान्तरण, पार्टी पुनर्जागरण र समन्वित नेतृत्व निर्माणको अवसरका रूपमा चित्रण गर्दै आगामी कार्यदिशा समेत संकेत गरेका छन ।
उनको उम्मेदवारीसँगै पार्टीभित्र नेतृत्व प्रतिस्पर्धा थप रोचक र कडा हुने आकलन गरिएको छ। विश्लेषकका अनुसार एमालेको ११औँ महाधिवेशन अहिलेको राजनीतिक परिस्थिति, आगामी निर्वाचन तथा नेतृत्व संक्रमणका कारण अत्यन्तै निर्णायक हुनेछ। पोखरेलको प्रवेशले महाधिवेशनमा नयाँ समीकरण, आन्तरिक शक्ति–सन्तुलन र समूहगत प्रभावको दिशा पनि बदलिन सक्ने अनुमान गरिएको छ ।
एमालेले छिट्टै महाधिवेशनको विस्तृत कार्यक्रम, एजेन्डा र निर्वाचन प्रक्रियाबारे जानकारी दिने अपेक्षा गरिएको छ। आगामी महाधिवेशनले पार्टीभित्र नयाँ नेतृत्व संरचना र राजनीतिक मार्गदर्शन तय गर्ने भएकाले सबैको नजर त्यतै केन्द्रित भइरहेको छ!







