काठमाडौं । सगरमाथा माध्यामिक विद्यालयले ५० औं बार्षिकोत्सव तथा स्वर्ण जयन्तीको अवसरमा भव्य समारोह आयोजना गर्दैछ । भोजपुरको दक्षिणी हतुवागढी–१ घोडेटार बजारस्थित विद्यालयले आगामी पौषको ३ देखि ९ गतेसम्म साताव्यापी कार्यक्रम गरेर स्वर्ण जयन्ती मनाउन लागेको हो ।

पहिलो दिन समारोहको उद्घाटन भएपछि विद्यालयले ५० बर्षको यात्रा पार गर्ने क्रममा योगदान पुर्याएका व्यक्ति/व्यक्तित्वहरुलाई सम्मान गर्ने मुख्य कार्यक्रम तय गरेको छ । विद्यार्थीहरुलाई शैक्षिक प्रोत्साहनस्वरुप स्थापना भएका डेढ दर्जनभन्दा बढि अक्षयकोष तथा गुठीका पुरस्कारहरुको संयुक्त वितरण हुनेछन् । यसैगरी विद्यार्थी तथा अभिभावकहरुका लागि विभिन्न खेलकुद कार्यक्रम र स्थानीय झाकी प्रदर्शनहरु हुनेछन् ।
समारोह सम्पन्न गर्न विद्यालयले देश विदेशमा रहेका अभिभावक, पुर्व विद्यार्थी, वुद्धिजीवी, समाजसेवी, व्यवसायी, शिक्षक, कर्मचारी तथा राजनीतिक व्यक्तित्वमा आर्थिक सहयोगको आह्वान गरेको छ । यसका लागि स्वर्ण जयन्ती मुल समारोह समिति, आर्थिक व्यवस्थापन समिति र प्रधानाध्यापकको टोलीले धरान, ईटहरी, काठमाडौंमा रहेका पुर्व विद्यार्थी तथा सरोकारवालाहरुसंग भेटेर छलफल गरेको छ । विद्यालयको फेसबुक पेजमा स्वर्ण जयन्ती समारोह आर्थिक व्यवस्थापन समितिले गरेको अपडेट अनुसार मंसिर १० गतेसम्म १९ लाख ७३ हजार ९८८ रुपैयाँ सहयोग संकलन भएको छ । संकलित रकमबाट समारोहको व्यवस्थापन गर्ने, स्मारिका छपाउने र स्मारक निर्माण गर्ने काठमाडौंस्थित भेटमा विद्यालयका प्रधानाध्यापक हेमराज न्यौपानेले बताए ।
यसैगरी यही अवसरमा स्वर्ण जयन्ती स्मिृती सभाहल निर्माण गर्ने लक्ष्य राखेको पुर्व प्रधानाध्यापक एवम् मूल समारोह समितिका अध्यक्ष ईश्वरमान राईले बताए । “स्वर्ण जयन्तीको सम्झना रहने र विद्यालय प्रयोजनका लागि पनि काम गर्ने हिसाबले सभाहल बनाउने लक्ष्य राखेका हौं, विभिन्न निकाय, व्यक्ति/व्यक्तित्वहरुबाट सहयोग प्राप्त हुने क्रम छ, सहयोग गर्ने बचन पाएको छौं,” काठमाडौंस्थित भेटकै क्रममा उनले भने ।

सगरमाथाको पाँच दशक
तत्कालिन समयमा अति दुर्गम मानिने भोजपुरको दक्षिणी भेगको शैक्षिक उन्नयनका लागि २०३१ सालमा यस विद्यालयको स्थापना गरिएको थियो । स्थापनाकालदेखि यस भेगको प्रमुख शैक्षिक गन्तव्यका रुपमा रहदै आएको छ । हाल पुर्व बालविकास केन्द्र देखि कक्षा १२ सम्म पठनपाठन हुदै आएको यस विद्यालयमा छ बर्षयता कृषि तथा बाली विज्ञान समेत पढाइ हुदै आएको छ । यसरी विद्यार्थीले घर पायक विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषि तथा बाली विज्ञान पढ्न पाएका छन् । सैद्धान्तिक तथा व्यवहारिक कक्षाहरु सञ्चालन हुन्छन् ।
विद्यालयमा निशुल्क सेनेटरी प्याड वितरण तथा विद्यालय नर्स कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले प्राथमिक उपचार, महिनावारी व्यवस्थापन लगायत यौन तथा प्रजनन स्वास्थ्य सचेतना प्राप्त गर्ने अवसर पाएका छन् ।
दक्षिणी भेगकै मुख्य शैक्षिक केन्द्रको पहिचान बनाएको सगरमाथाले संघर्षपुर्ण पाँच दशक यात्रा पार गरेको छ । २०३१ सालमा स्थानीय सामाग्री कटुसको स्याउला र बाँसको भाटोले बेरेर विद्यालयको स्थापना गरिएको थियो । विद्यालयलाई भौतिक संरचनाले सम्पन्न तथा शिक्षणमैत्री बनाउनका लागि तत्कालिन प्रअ ईश्वरमान राईले महत्वपुर्ण योगदान पुर्याएका छन् ।

२०४० देखि २०७२ सालसम्म प्रअको जिम्मेवारी सम्हालेका उनले आफ्नै तलब खर्च कट्टा गरेर, बिहानदेखि रातिसम्म सरकारी बिदा समेत नभनी विद्यालयमै अहोरात्र खटिएका थिए । विद्यालयको घडेरी बिक्री गरेर बजेट व्यवस्थापन गरी विद्यालयलाई सुविधा सम्पन्न बनाउने कामको थालनी उनैले गरेका थिए । यति मात्रै नभइ विद्यालय भवन नजिकै भएको करिब २५ फिट अग्लो डाँडालाई सम्याएर विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक उन्नतिको विकास गरेका थिए ।
विद्यालयमा हाल सुविधासम्पन्न कक्षाकोठा, विज्ञान प्रयोगशाला, ईन्टरनेट सुविधा सहितको कम्प्युटर कक्षा, पुस्तकालय, स्टेज सहितको खेलमैदान तथा छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय छन् । पुस्तकालयमा पाठ्यपुस्तक सहित पत्रपत्रिका, सन्दर्भ सामाग्री, सामूहिक तथा व्यक्तिगत अध्ययन गर्न मिल्ने क्याविन र ईन्साईक्लोपेडिया र ब्रिटानिका संग्रहित छन् ।
यसरी विद्यालयको स्थापना तथा सञ्चालनले गर्दा नै घोडेटार बजार दक्षिणकै प्रशासनिक, व्यापारिक र ग्रामिण तहको स्वाथ्योपचारको केन्द्रका रुपमा विस्तार भयो । देशमा संघीय संरचना लागु भएपछि २०७४ साल यता भने हतुवागढी गाउँपालिकाको केन्द्र बनेको छ घोडेटार र यही छ पालिका कार्यालय ।








