
लन्डन । गोर्खा सत्याग्रह संयुत्त संघर्ष समिति र गोर्खा नेपलीज वेल्फेयर सोसाईटी युकेले कारको ठक्करबाट ज्यानगुमाएका नेपाली विद्यार्थी युविन तामाङका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
संयुत्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई र गोर्खा नेपलीज वेल्फेयर सोसाईटी यूकेका अध्यक्ष गञ्जा आलेले युविनका बुबा विकास तामाङ र आमा शर्मिला मगर तामाङलाई सहयोग रकम हस्तान्तरण गरेको छ । सत्याग्रह संयुत्त संघर्ष समितिले २ हजार ७ सय ४२ पाउण्ड र गोर्खा नेपलीज वेल्फेयर सोसाईटी यूकेले १ हजार २ सय पाउन्डसहयोग प्रदान गरेको हो । उक्त रकम दुवै संस्थाले छुट्टाछुट्टै पहलमा बेलायतभरिबाट सङ्कलन गरिएको थियो।
गोर्खा सत्याग्रह संयुत्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राई मानवीय र समुदायप्रतिको उत्तरदायित्वका आधारमा सहयोग गरिएको बताए। उनले भने, “हामी अधिकारको लागि मात्र होइन, अप्ठ्यारोमा परेका सबै नेपालीलाई सहयोग गर्न सधैँ तयार छौँ।” सहयोग रकम लन्डनको साउथ हेरोस्थित आज शुक्रवार एक कार्यक्रम आयोजना गरी दुवै संस्थाले संयुत्त रूपमा हस्तान्तरण गरेको हो ।
लन्डनको रेडब्रिजमा बसोबास गर्दै आएका धरान–११ का २० वर्षीय युविन तामाङलाई गत अक्टोबर १८ माबीएमडब्लु कारले ठक्कर दिएको थियो। बेलायती मिडियाका अनुसार, इष्ट लन्डनको इल्फोर्डस्थित रेड ब्रिज सडकमा बाटो काट्ने क्रममा र्यापर ‘गेट्स’द्वारा चलाइएको कारले उनलाई ठक्कर दिएको थियो । दुर्घटनापछि अस्पताल पुर्याइएका युविनको उपचारकै क्रममा निधन भएको थियो।
उक्त दुर्घटनापछि फरार रहेका चालक ‘गेट्स’लाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेर मुद्दा चलिरहेको छ ।









