हतुवागढी, भोजपुर । घोडेटारस्थित सगरमाथा माविको ५० औं बार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
बुधबार सगरमाथाका पुर्व प्रधानाध्यापक एवम् समाजसेवी ईश्वरमान राई, कोशी प्रदेशका पुर्व मुख्यमन्त्रीद्धय शेरधन राई, राजेन्द्र राई, प्रदेश सांसद विनोद वातान्ता, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, शिक्षाप्रेमीहरुको उपस्थितीमा होमताङ निवासी पुर्व सांसद धनहर्क राईको बाहुलीद्धारा विद्यालयको प्रवेशद्धारनेर स्वर्ण जयन्ती स्मारकको संयुक्त अनावरण गर्दै समारोह समापन गरिएको हो । भोजपुरको दक्षिणी हतुवागढी–१ घोडेटार बजारस्थित सगरमाथा माविले गत पौष ३ देखि ९ गतेसम्म साताव्यापी कार्यक्रम गरेर स्वर्ण जयन्ती मनाएको हो ।

पहिलो दिन पुर्व सांसद धनहर्क राईकै प्रमुख आतिथ्यतामा समारोहको उद्घाटन गरेपछि साकेला, लाखे, मारुनी, तामाङ सेलो र संगिनी नाच प्रदर्शन तथा शिक्षक–कर्मचारी मैत्रीपुर्ण भलिबल खेल गरिएको थियो ।
दोस्रो दिन आधारभुत (कक्षा १–३) स्तरीय स्मरण दौड, हिसाब दौड (कक्षा ४–५) र मावि (कक्षा ९–१२) स्तरीय भलिबल प्रतियोगिता भयो । तेस्रो दिन, भलिबल प्रतियोगितासंगै आधारभुत तह (कक्षा ६–८) स्तरीय हाजिरीजवाफ प्रतियोगिता र चौथो दिन मावि (कक्षा ९–१२) स्तरीय वक्तृत्वकला तथा साँस्कृतिक लोकनृत्य प्रतियोगिता भयो ।

स्मरण दौड, हिसाब दौड, भलिबल, हाजिरी जवाफ, र वक्तृत्वकला प्रतियोगितामा हतुवागढी गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराइएको थियो । भने, लोक नृत्य प्रतियोगिता हतुवागढी, आमचोक र रामप्रसादराई गाउँपालिका स्तरीय थियो ।
पाँचौं दिन सगरमाथामा पुरस्कार कोषदाता स्व. भूईदल तथा जनकमाया राई स्मृती प्रतिष्ठानले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रम गरेको थियो । साथै विद्यालयले अभिभावकलाई म्युजिकल चियर, हण्डीफोर र रसी तान कार्यक्रम राखिएको थियो ।
छैठौं दिन, विद्यार्थीहरुलाई शैक्षिक प्रोत्साहनस्वरुप स्थापना भएका डेढ दर्जनभन्दा बढि अक्षयकोष तथा गुठीका पुरस्कारहरुको संयुक्त वितरण, ५० बर्ष भन्दा माथि उमेर समुहका लागि एक हजार मिटरको दौड र अन्तरक्रिया कार्यक्रम भयो । विद्यालयका उत्कृष्ट, अनुशासित र विपन्न वर्गका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हेमराज न्यौपानेले बताए ।

सातौं अर्थात अन्तिम दिन विविध साँस्कृतिक कार्यक्रम सहित स्वर्ण जयन्ती स्मारक अनावरण गरिएको थियो । यही अवसरमा ०३२ सालदेखि हालसम्मका पुर्व विद्यार्थीहरुले तीन दशक प्रधानध्यापकको जिम्मेवारीमा रहेर सगरमाथा माविको वृति, विकास, र उत्थानमा महत्वपुर्ण योगदान पुर्याएका पुर्व प्रअ एवम् हाल विव्यस अध्यक्ष राईलाई संयुक्त रूपमा अभिनन्दन गरे ।
स्वर्णजयन्ती समारोहको दौडानमा विद्यालयले ५० बर्षको यात्रा पार गर्ने क्रममा योगदान पु¥याउने व्यक्ति/व्यक्तित्वहरुलाई कदर–पत्र, सम्मान पत्र तथा प्रशंसा पत्र प्रदान गर्यो ।

समारोह सञ्चालन गर्न विद्यालयले देश विदेशमा रहेका अभिभावक, पुर्व विद्यार्थी, वुद्धिजीवी, समाजसेवी, व्यवसायी, शिक्षक, कर्मचारी तथा राजनीतिक व्यक्तित्वमा आर्थिक सहयोगको आह्वान गरेको थियो ।
विद्यालयको फेसबुक पेजमा स्वर्ण जयन्ती समारोह आर्थिक व्यवस्थापन समितिले गरेको अपडेट अनुसार मंसिर ३ सम्मको ‘बैंक स्टेटमेन्ट अफ अकाउन्ट’ मा ७७ लाख ८३ हजार ६९७ रुपैयाँ सहयोग संकलन भएको छ ।
संकलित रकमले समारोहको व्यवस्थापन, स्मारिका प्रकाशन र स्वर्ण जयन्ती स्मारक निर्माण गरिएको विद्यालयका प्रअ न्यौपानेले जानकारी दिए । यही अवसरमा स्वर्ण जयन्ती स्मिृती सभाहल निर्माण गर्ने लक्ष्य राखेको छ ।
तत्कालिन समयमा अति दुर्गम मानिने भोजपुरको दक्षिणी भेगको शैक्षिक उन्नयनका लागि २०३१ सालमा यस विद्यालयको स्थापना गरिएको थियो । स्थापनाकालदेखि यस भेगको प्रमुख शैक्षिक गन्तव्यका रुपमा रहदै आएको छ ।
हाल पुर्व बालविकास केन्द्र देखि कक्षा १२ सम्म पठनपाठन हुदै आएको यस विद्यालयमा छ बर्षयता कृषि तथा बाली विज्ञान समेत पढाइ भैरहेको छ । विद्यालयको निरन्तर सञ्चालनले गर्दा नै घोडेटार बजार दक्षिणकै प्रशासनिक, व्यापारिक र ग्रामिण तहको स्वाथ्योपचारको केन्द्रका रुपमा विस्तार भएको छ ।




(तस्बिरहरू अर्जुन राई रङाहाङको फेसबुक वालबाट लिइएकाे छ ।)







