‘माओवादी जनयुद्ध’ को भाष्य एमालेको भाष्य हुन सक्दैन : सुरेन्द्र पाण्डे

नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले एमालेको मूल बाटो ‘जनताको बहुदलीय जनवाद’ (जबज) मात्रै भएको उल्लेख गर्दै ‘माओवादी जनयुद्ध’ को भाष्यलाई पार्टीले आत्मसाथ गर्न नसक्ने बताएका छन् ।

 

सामाजिक सञ्जाल फेसबुकमार्फत पाण्डेले पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई लक्षित गर्दै उनले एमालेको आफ्नै गौरवशाली इतिहास र मौलिक सिद्धान्त रहेको स्मरण गराएका हुन् ।

 

पाण्डेले राजनीतिमा वैचारिक स्पष्टतालाई सबैभन्दा ठुलो शक्ति मान्दै एमालेको झण्डामुनि गोलबद्ध हुने सबैले पार्टीको आधिकारिक दस्ताबेजसँग मेल खाने गरी मात्रै बोली र व्यवहार प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्। संसद् वा सार्वजनिक मञ्चहरूमा व्यक्त हुने व्यक्तिगत भावनाहरूलाई ‘पार्टी लाइन’ भनेर व्याख्या गर्दा त्यसले कार्यकर्तामा भ्रम र जनतामा अविश्वास पैदा गर्ने उनको तर्क छ । एमाले शान्तिपूर्ण प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता र जनताको मतलाई नै परिवर्तनको अन्तिम आधार मान्ने शक्ति भएको उनले प्रस्ट पारेका छन् ।

 

पार्टीभित्र विभिन्न पृष्ठभूमिबाट आएका नेता–कार्यकर्ताको आफ्नै बुझाइ हुन सक्ने भए पनि एमालेको आधिकारिक नीतिभन्दा बाहिर जान नहुने पाण्डेको भनाइ छ । उनले अतिवादी र उग्र दृष्टिकोणहरूले पार्टीलाई समयको गतिसँगै अगाडि लैजानुको साटो झन् पछाडि धकेल्ने चेतावनी समेत दिएका छन् ।

 

विगतका द्वन्द्वकालीन बाटोहरूको गौरवगाथा गाएर बस्ने समय नभएको उल्लेख गर्दै उनले अबको ध्यान शान्तिपूर्ण लोकतान्त्रिक पद्धतिबाट मुलुकको आर्थिक रूपान्तरण कसरी गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने बताएका छन्। एमालेलाई एमालेकै रूपमा मौलिक र सुदृढ राख्न आफ्नो वैचारिक धरातल बिर्सनु घातक हुने पाण्डेको निष्कर्ष छ ।

 

उनले लेखेका छन्, ‘राजनीतिमा वैचारिक स्पष्टता सबैभन्दा ठुलो शक्ति हो। नेकपा (एमाले) को आफ्नै गौरवशाली इतिहास, आफ्नै सङ्घर्षको जग र आफ्नै मौलिक सिद्धान्त छ ।

 

हामीले स्पष्ट हुनुपर्छ – ’माओवादी जनयुद्ध’ को भाष्य एमालेको आधिकारिक भाष्य होइन र हुन सक्दैन। एमालेको मूल बाटो ’जनताको बहुदलीय जनवाद’ (जबज) हो, जसले शान्तिपूर्ण प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता र जनताको मतलाई नै परिवर्तनको अन्तिम आधार मान्छ।

 

पार्टीभित्र विभिन्न पृष्ठभूमिबाट आउनुभएका साथीहरूको आफ्ना भोगाइ र बुझाइ हुन सक्छन्, तर जब हामी एमालेको झण्डामुनि गोलबद्ध हुन्छौँ, तब हाम्रो बोली र व्यवहार पार्टीको दस्ताबेजसँग मेल खानुपर्छ। संसद्मा वा सार्वजनिक मञ्चमा व्यक्त हुने व्यक्तिगत भावनाहरूलाई ’पार्टी लाइन’ भनेर व्याख्या गर्दा त्यसले कार्यकर्तामा भ्रम र जनतामा अविश्वास मात्र पैदा गर्छ। त्यसमाथि, यस्ता अतिवादी र उग्र दृष्टिकोणहरूले हाम्रो पार्टीलाई समयको गतिसँगै अगाडि लैजानुको साटो झन् पछाडि धकेल्नेछन्।

 

आजको आवश्यकता विगतका द्वन्द्वकालीन बाटोहरूको गौरवगाथा गाउनु होइन, बरु शान्तिपूर्ण लोकतान्त्रिक पद्धतिबाटै मुलुकको आर्थिक रूपान्तरण कसरी गर्ने भन्नेमा केन्द्रित हुनु हो। एमालेलाई एमालेकै रूपमा मौलिक र सुदृढ राख्न हामीले आफ्नो वैचारिक धरातल कहिल्यै बिर्सनु हुँदैन।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार