विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती

काठमाडौँ, २८ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधन (EV) सम्बन्धी कर निर्धारणमा बजेट वक्तव्यअघि सूचना चुहावट भएको भन्ने आरोपको कडा प्रतिवाद गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिनुभएको छ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने कुत्सित प्रयास भइरहेको बताउनुभयो।

“अरू राजनीतिकर्मीमा यस्तो नैतिक प्रतिबद्धता छ?”

लेखा समितिमा आफ्नो धारणा राख्ने क्रममा अर्थमन्त्री डा. वाग्लेले आफ्नो निष्ठा र नैतिकतामाथि प्रश्न उठाउनेहरूलाई कडा शब्दमा चुनौती दिँदै भन्नुभयो:

“दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्। म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु। के यस्तो नैतिक प्रतिबद्धता अरू राजनीतिकर्मीमा पनि छ ?”

बजेट निर्माणका क्रममा राजस्वका दरहरू परिवर्तन गर्दा कुनै पनि व्यापारिक घराना वा समूहलाई फाइदा पुग्ने गरी सूचना चुहावट नगरिएको दाबी गर्दै उहाँले सबै निर्णयहरू पारदर्शी र संस्थागत प्रक्रिया अन्तर्गत नै भएको स्पष्ट पार्नुभयो।

सार्वजनिक लेखा समितिमा स्पष्टीकरण

आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधनको भन्सार तथा अन्तःशुल्कको दर परिमार्जन गर्दा सूचना बाहिरिएको भन्दै संसद् र सार्वजनिक वृत्तमा प्रश्न उठेपछि सार्वजनिक लेखा समितिले अर्थमन्त्रीलाई छलफलका लागि बोलाएको थियो। बैठकमा अर्थमन्त्री डा. वाग्लेले प्रमाणविहीन आरोपका भरमा संसद् र सञ्चारमाध्यममा ‘ट्रायल’ गरिनु दुःखद भएको उल्लेख गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार