गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

गण्डकी, १५ असार । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले प्रस्तुत गर्नुभएको उक्त विधेयक बहुमतले पारित भएको हो।

प्रदेशसभामा बजेटको मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि विस्तृत छलफल र सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि विधेयक पारित गरिएको हो। मन्त्री शेरचनले गत असार १ गते प्रदेशसभा समक्ष रु ३२ अर्ब ९९ करोड ९९ लाख को बजेट प्रस्तुत गर्नुभएको थियो।

बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन: मुख्यमन्त्री पाण्डे

विधेयक पारित हुनुअघि बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा स्रोतको कुनै कमी नहुने स्पष्ट पार्नुभएको छ। सरकारले हचुवाका भरमा नभई यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याएको उहाँको दाबी थियो।

“हामीले स्रोत सुनिश्चित गरेर मात्र बजेट ल्याएका छौँ, त्यसैले यसको कार्यान्वयनमा स्रोतको कुनै अभाव हुँदैन,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो।

बजेट पारित भएसँगै गण्डकी प्रदेश सरकारलाई आगामी साउन १ गतेदेखि नयाँ आर्थिक वर्षका योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने बाटो खुला भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार