राज्यका तीन अंगबीच तालमेल नमिलेसम्म जनताको चाहना पूरा हुँदैन: सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावनामा एकरूपता नआएसम्म जनताको चाहनाबमोजिमको परिणाम हासिल गर्न नसकिने बताएका छन् ।

६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले संविधानको अक्षरशः पालना र कानुनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुनेमा जोड दिएका हुन् ।

तीन अंगको कार्यगत एकता अपरिहार्य

सभामुख अर्यालले देश निर्माणको हुटहुटी, द्रुत विकास र जनजीविकाका सवाललाई सम्बोधन गर्न राज्यका तीनै प्रमुख अंगबीच सहकार्य आवश्यक रहेको औँल्याए ।

“हामीसँग रहेको देश निर्माणको हुटहुटी, देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना तथा जनजीविकाका सवालमा प्रभावकारी ढङ्गले काम गर्ने सङ्कल्पलाई सफल बनाउन कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका–यी तीनै अङ्गको गति र भावना एकआपसमा मिल्नुपर्छ,” सभामुख अर्यालले भने ।

उनका अनुसार मुलुकको समृद्धि, सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्य गर्न यी तीन अंगबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य छ ।

विदेशिएका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाऔँ

सभामुख अर्यालले वैदेशिक रोजगारीका सिलसिलामा विश्वभर छरिएका नेपालीलाई स्वदेश फर्कन प्रेरित गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । देशलाई साँच्चिकै बस्नलायक बनाउन र समृद्धिको अनुभूति गराउन नागरिक समाज र सरोकारवालाहरूले निरन्तर खबरदारी गर्नुपर्ने उनको भनाइ छ ।

“कम्तीमा पनि अब नेपाल साँच्चिकै नेपाल बन्यो, नेपाल बस्नलायक बन्यो, हामी फर्किनुपर्छ भन्ने अनुभूति संसारभर विभिन्न देशमा बसिरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा जगाउने वातावरण निर्माण गर्न हामी सबै लाग्नुपर्छ,” उनले थपे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार