१.४८ करोडको अवैध क्रिप्टो कारोबारमा भक्तपुरका मुकेश पक्राउ

काठमाडौँ, २० असार | नेपालमा गैरकानूनी मानिएको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालमार्फत मानिसहरूलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने र सो रकमलाई क्रिप्टोमा रूपान्तरण गरी अवैध कारोबार गर्ने भक्तपुर मध्यपुर थिमी–५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरेको हो।

करोडौँको डिजिटल कारोबार र ठगी धन्दा

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा प्रजापतिले हालसम्म रु. १ करोड ४८ लाख ७६ हजार ५२७ बराबरको अवैध क्रिप्टो कारोबार गरेको खुलेको छ।

“पक्राउ परेका प्रजापतिको विभिन्न डिजिटल खाताहरूमा मात्रै ७ हजार ४८५ अमेरिकी डलर (करिब ११ लाख ४१ हजार ९८३ नेपाली रुपैयाँ) मौज्दात फेला परेको छ,” प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।

पाँच दिनको म्याद थप, अनुसन्धान जारी

नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबारलाई पूर्ण रूपमा गैरकानूनी घोषणा गरेको छ। अवैध रूपमा डिजिटल मुद्राको नेटवर्क चलाएको र ठगीमा संलग्न रहेको कसुरमा प्रजापतिमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार