
भोजपुर – भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले पर्यटन क्षेत्रको दीगो विकासलाई लक्ष्य गर्दै ‘समुदायमा आधारित पर्यटन नीति–२०८३’ पारित गरेको छ। शुक्रबार सम्पन्न गाउँसभाको २०औँ अधिवेशनको दोस्रो बैठकले उक्त नीति अनुमोदन गरेको हो।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार करिब छ महिनाको तयारी, विज्ञहरूसँगको परामर्श तथा सरोकारवालासँगको विस्तृत छलफलपछि पर्यटन नीति तयार गरी गाउँसभाबाट पारित गरिएको हो। नीतिमा मुन्दुम पदमार्गसहित गाउँपालिकाभित्र रहेका अन्य पर्यटकीय गन्तव्यहरूको संरक्षण, पूर्वाधार विकास, प्रवर्द्धन तथा व्यवस्थापनका लागि स्पष्ट रणनीति समेटिएको छ।
अध्यक्ष बस्नेतले पर्यटनलाई गाउँपालिकाको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाइने बताउँदै मुन्दुम पदमार्गसँगै अन्य सम्भावनायुक्त पर्यटकीय स्थलहरूको पहिचान, संरक्षण र प्रवर्द्धनमार्फत स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।
पर्यटनसँगै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले गाउँसभाले ‘लोकल मदिरा उत्पादन, बिक्री तथा नियन्त्रण सम्बन्धी विधेयक’ पनि पारित गरेको छ। गाउँपालिकाभित्र उत्पादन हुने फलफूल, कोदो लगायतका स्थानीय कृषि उपजबाट मदिरा उत्पादन गरी ब्रान्डिङ गर्ने योजना अघि सारिएको अध्यक्ष बस्नेतले बताउनुभयो। यसका लागि आवश्यक कानुनी व्यवस्था गरी साना तथा घरेलु उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गरिने उहाँको भनाइ छ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पर्यटन नीति गाउँपालिकाको समग्र विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। पर्यटनसँगै स्थानीय उत्पादन, संस्कृति र पहिचानलाई जोडेर आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य रहेको उल्लेख गर्दै महिला, युवा तथा स्थानीय समुदायलाई आयआर्जनसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।
यसैगरी, कृषिको उत्पादनशीलता वृद्धि र आत्मनिर्भरतालाई प्राथमिकतामा राख्दै गाउँसभाबाट ‘सिंचाइ विधेयक’ समेत पारित गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार कृषि क्षेत्रको दीगो विकासका लागि सिंचाइ पूर्वाधार विस्तार आवश्यक भएकाले उक्त विधेयक ल्याइएको हो।
गाउँपालिकाले नयाँ नीति तथा विधेयक कार्यान्वयनसँगै पर्यटन, कृषि तथा साना उद्योगको विकासमार्फत स्थानीय आर्थिक गतिविधि थप सशक्त हुने विश्वास व्यक्त गरेको छ।
यसैबीच, गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ८७.०७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ। साथै, गाउँसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ८७ लाख ५५ हजार ८७६ रुपैयाँ बराबरको बजेट पनि पारित गरेको छ।








