
न्युजिल्यान्डको राष्ट्रिय राजनीतिमा नेपालीमूलका युवाहरूको उपस्थिति विस्तार हुन थालेको छ। आगामी नोभेम्बर ७ मा हुने आमनिर्वाचनमा नेपालीमूलका दुई युवा नेता फरक–फरक राजनीतिक दलबाट उम्मेदवार बनेपछि न्युजिल्यान्डस्थित नेपाली समुदायमा पनि चुनावी चासो बढेको छ।
पाल्मर्स्टन नर्थ निर्वाचन क्षेत्रबाट अपर्चुनिटी पार्टीका तर्फबाट नेत्र घिमिरे र क्राइस्टचर्चको विग्राम निर्वाचन क्षेत्रबाट ग्रीन पार्टीका तर्फबाट श्रीजन पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
नोभेम्बर ७ को निर्वाचनले न्युजिल्यान्डको नयाँ संसद् चयन गर्नेछ र दलहरूले प्राप्त गर्ने समर्थनका आधारमा नयाँ सरकार तथा प्रधानमन्त्री चयन हुनेछन्। अपर्चुनिटी पार्टीबाट पाल्मर्स्टन नर्थमा उम्मेदवारी दिएका नेत्र घिमिरेको राजनीतिक प्राथमिकतामा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास रहेका छन्। नेपालको झापास्थित शरणार्थी शिविरमा जन्मिएर ११ वर्षको उमेरसम्म नेपालमै हुर्किएका घिमिरे हाल न्युजिल्यान्डको पाल्मर्स्टन नर्थमा बसोबास गर्दै आएका छन्।
ग्रीन पार्टीबाट क्राइस्टचर्चको विग्राम निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका श्रीजन पाण्डेको पुर्ख्यौली सम्बन्ध नेपालको धादिङसँग जोडिएको छ। पाण्डेले सन् १९९६ मा आफ्ना अभिभावकसँगै न्युजिल्यान्ड बसाइँ सरेको जानकारी दिए।








