
भोजपुर । जनप्रतिनिधी र कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना लागेपछि दक्षिणी आमचोक गाउँपालिकाको दैनिक सेवा प्रवाह बन्द गरिएको छ । कोरोना रिपोर्टमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको हो ।
गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक लगायत ५३ जनाको स्वाब परिक्षण गर्दा गाउँपालिका कार्यालयका ९ जनामा कोरोना संक्रमण देखिएपछि अर्को सुचना प्रकाशित नभएसम्म कार्यालयको सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यमबहादुर उपरकोटीले बताए । भने, ‘जनप्रतिनिधी र कर्मचारीमा कोरोना देखिएपछि सेवा लिन आउने नागरिकको स्वास्थ जोखिमलाई हेरेर सेवा बन्द गर्ने निर्णय ग¥यौँ’
यसअघि रामप्रसाद राई गाउँपालिकामा पनि गाउँपालिका उपाध्यक्षसहित कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालयको सम्पूर्ण सेवा बन्द गरेको थियो । त्यस्तै भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पनि कोरोना देखिएपछि वैशाख महिनाभरी नगरपालिकाको सम्पूर्ण सेवा र कार्य सम्पादन ठप्प गरिएको थियो ।
यस्तै टेम्केमैयुङ गाउाँपालिका र पौवादुङमा गाउँपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै अत्यावश्यक बाहेक सम्पूर्ण गाउँपालिकाका सेवाहरु जेठ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । एम्बुलेन्स, स्वास्थ्य सेवा, सुरक्षा, खानेपानी, विद्युत सेवा लगायत अति संवेदनशिल सेवाबाहेक अन्य सेवाहरु बन्द गर्ने निर्ण भएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश राईले बताए । उनका अनुसार गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालित विकास निर्माणका कार्यहरु समेत बन्द गर्न सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।
भोजपुरमा पनि कोरोना संक्रमितको संख्या बढदै गईरहेकाले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तथा जोखिमलाई ध्यान दिएर गाउँपालिका भित्रका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । पछिल्लो अपडेट अनुसार भोजपुरमा कोरोना संक्रमित हुनेको संख्या ९४ पुगेको छ । जसमा एकजना निको भएका छन् भने एकजनाको शनिबार उपचारको क्रममा काठमाडौँमा मृत्यू भएको थियो ।
९ वटै स्थानीय तहहरुमा स्थापना गरिएका ५ शैयाका कोभिड अस्पतालहरुमा संक्रमितको संख्या नभएपनि होम आईसोलेसनमै बस्न अपिल गरिएको छ । संक्रमितबाहेक कन्ट्याक्ट ट्रेसिङका आधारमा मानिसहरुलाई घरमै सुरक्षित साथ रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले बताए । उनले भने, ‘सबैको चेकजाँच गर्दा भयावह स्थिती आउने जोखिम उच्च छ, त्यसैले संक्रमितबाहेक संक्रमितका सम्पर्कमा आउनेहरुलाई स्वयम् संयम्, सुरक्षित र सजक रहन अपिल गरिएको छ’ प्रजिअ भण्डारीका अनुसार जिल्ला सबै सिमानाकाहरुमा कडाई गरिएको र विशेष परिस्थितीमा जिल्ला भित्रिने नागरिकको अवस्था हेरेर अरुण गाउँपालिकाको जरायोटारमा बनाईएको होल्डिङ सेन्टरमा राखिने व्यवस्था मिलाईएको छ ।







