काठमाडौं । सरकारले कोरोना संक्रमणबाट अभिभावक गुमाएका बालबालिकाको संरक्षकत्व लिने भएको छ । ‘महामारीका कारण अभिभावक गुमाउन पुगेका बालबालिकाहरुको हेरचाह, संरक्षण र पालनपोषण गर्नको लागि परिवारका अन्य सदस्य वा संरक्षक नभएको अवस्थामा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बालअधिकार परिषद् मार्फत बिशेष संरक्षण व्यवस्थापन गर्ने’ परिषद्काे जारी सुचनामा उल्लेख छ ।
त्यस्ता बालबालिका फेला परेमा सम्बन्धित स्थानीय तहले राष्ट्रिय बालअधिकार परिषद्मा शिफारिस गर्नुपर्ने हुन्छ । जन्मदर्ता, मृतक अभिभावकको मृत्युदर्ता/नेपाली नागरिकता प्रमाणपत्र, नाता खुल्ने कागजात, कोभिड संक्रमणबाट अभिभावकको मृत्यु भएको पुष्टि हुने कागजात, सम्बन्धित स्थानीय तह वा विद्यालयको सिफारिस आवश्यक पर्छ ।
यसैगरी परिषद्ले कोरोना महामारी र निषेधाज्ञाको असहज परिस्थितीलाई लक्षित गर्दै बालबालिकालाई राहत वितरण गरिरहेको छ । जस्तो सामाखुसीस्थित एक बालगृहका १७ बालबालिकासहित कर्मचारी कोरोना संक्रमित भए । आश्रित बालबालिकालाई पालनपोषणमा समस्या भएपछि राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास केन्द्र – १०४ ले बैशाख २७ गते ग्यास लगायत आवश्यक खाद्यान्न राहत उपलब्ध गराए ।

गोदावरीमा एक संस्थाको संरक्षणमा रहेका ३१ बालबालिका र ११ महिलालाई कोरोना महामारीकै कारण हेरचाहमा समस्या भएपछि परिषद् र खोजतलास केन्द्रले जेठ ४ खाद्यान्न राहत पु¥याए । उक्त संस्थामा बेचविखन, हिंसा, दुव्र्यवहार तथा अन्य जोखिममा परेका बालबालिका र महिलाहरु संरक्षित छन् ।
कोरोना त्रास र निषेधाज्ञाले अभिभावकले रोजगारी गुमाएर दैनिक गुजारामा समस्या भएपछि बालबालिको पालनपोषणमा सहायता दिन थालेको परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले बताए । ‘बालबालिका भएको परिवारमा बाबुआमा वा संरक्षकको विपन्नता कारण, महामारीले रोजगारी गुमेको कारण, आर्थिक कमजोरी भएको कारण भोको हुने अवस्था आयो र खानेकुराको विकल्प भएन भने सहयोग गर्छौं,’ उनले भने ।
उपत्यकामा बैशाख १६ देखि निषेधाज्ञा लागु गरिएको थियो । परिषद्का अनुसार जेठ ९ गतेसम्म उल्लिखित दुई बालगृह सहित ३६ परिवारका १२४ बालबालिकालाई खाद्यान्न राहत उपलब्ध गराएको छ । ति मध्ये ३४ परिवार बानेश्वर, ज्ञानेश्वर, जडिबुटी, टिकाथली, गौशाला, गठ्ठाघर, राधेराधे लगायत उपत्यका विभिन्न स्थानका छन् ।
हालसम्मको राहत वितरणलाई हेर्दा उपत्यका केन्द्रित देखिएपनि बालबालिका भएका परिवारमा आर्थिक अभाव, असहायता, असक्षमताका कारण खान नपाउने स्थिती आइपरे परिषद्ले देशैभर सहयोग गर्ने बताए ।
महामारीकै प्रभावमा बालपोषण र बालस्वास्थ्यमा नकरात्मक असरलाई आउन नदिन यो कार्य थालेको छ । यसका लागि परिषद्ले कोभिड –१९ संक्रमण बिषेश कार्यक्रम अन्तर्गत बिनियोजित १५ लाख बजेटबाट व्यवस्थापन गरिरहेको छ ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएसंगै परिषद्ले देशभरका ७५३ वटै स्थानीय तहमा बालमैत्री उपचार र आवश्यक सहायताको लागि अनुरोध पत्र पठाएको थियो । बालबालिका भएको परिवारलाई आइपर्ने समस्या स्थानीय सरकारबाटै प्राथमिकतामा राखेर समाधान गर्नका लागि अनुरोध पठाएको कार्यकारी निर्देशक धरेलले बताए । संरक्षण कार्यक्रम अन्तर्गत स्थानीय सरकारले समेत सम्बोधन नगरेको भए परिषद्ले राहत दिन्छ ।
महामारीको समयमा परिषद्ले देशभरीका सञ्चालनमा रहेका बालगृहहरुको बारेमा टेलिफोन सम्पर्क गरी आवश्यकता सहायता प्रदान गर्दै आएको छ । हालसम्म १५ बालगृहमा १३१ बालबालिका कोरोना संक्रमण भएका छन् । देशभर ४८९ वटा बालगृह सञ्चालनमा छन् । जसमध्ये ३०० सय बालगृह उपत्यकामा छन् ।
महामारीको समयमा बालबालिकाहरु खानलाउन समस्यासंगै हिंसा, बेचविखनमा पर्ने, हराउने हुदा देशभरका ६० जिल्लामा १९४ स्वयम्सेवक खटाएर परिषद्ले समन्वय गरिरहेको छ । जेठ ४ गते काठमाडौको टोखा नगरपालिका, मिलन टोलमा जस्ताको टहरामा बिना दर्ता मापदण्ड विपरित जोखिम अवस्थामा राखिएका छ बालिका र चार बालक गरी १० र घरेलु हिंसामा परी परिषद्को सम्पर्कमा आएकी एक बालिका सहित ११ जनाको उद्धार गरेको थियो ।








