
भोजपुर । छोरो गुमाएको पिडाले ग्रसित एक दलित परिवार न्यायका लागि सरोकारवालासंग सहयोग अपिल गरेका छन् । जातीय विभेदका कारण छोरोको मृत्यू भएको भन्दै षडानन्द नगरपालिका १४, बोयाका स्थानीय गोरखबहादुर ठटाल र सिता ठटालले न्यायका लागि याचना गरेका छन् ।
विवाहको भोलीपल्ट मेलमिलापबाट मिलाउने भनेर वडाध्यक्ष झम्कबहादुर रोक्का स्वयम्ले प्रहरी चौकी बोयामा पुग्नासाथ संगमलाई गालीगलौज गर्दै केटिलाई छुट्याएको मृतककी आमा सिताले सुनाईन् ।
स्थानीय १९ वर्षिय संगम ठटालको स्थानीय एक नेवार समुदायकी रिता (नाम परिवर्तन) श्रेष्ठसित अन्र्तजातीय भागी विवाह गरेकै कारण छोराले आत्महत्या गरेको पिडितको आरोप छ । गत जेठ १० गते राती घर भित्रिएका संगम र रितालाई केटि पक्ष, स्थानीय वडा जनप्रतिनिधी र प्रहरीले भोलीपल्टै अलग गरिदिएपछि जेठ १२ गतेदेखि संगम सम्पर्कविहिन भएका थिए । वेपत्ता भएको दुई दिनपछि गाउँकै जंगलमा संगमको लास झुण्डिएको अवस्थामा भेटिएको थियो ।
विवाहको भोलीपल्ट मेलमिलापबाट मिलाउने भनेर वडाध्यक्ष झम्कबहादुर रोक्का स्वयम्ले प्रहरी चौकी बोयामा पुग्नासाथ संगमलाई गालीगलौज गर्दै केटिलाई छुट्याएको मृतककी आमा सिताले सुनाईन् । आफूहरू दलित भएकै कारण छोराले ज्यान गुमाउनुपरेको उनले गुनासो गरिन् । ‘छोरा र केटि दुवैले राजीखुशी प्रेम विवाह गरेको स्विकारेपछि हामी पनि निर्धक्कले सुतेका थियौँ’ सिताले भनिन् ।
प्रहरी चौकीमा केटितर्फका परिवार, आफन्तजन, वडाध्यक्ष, प्रहरीले वकालत गरेपनि आफ्नो पक्षमा बोलिदिने कोही मान्छे नभएको सीता गुनासो गरिन् । ‘हाम्रा लागि बोलीदिने मान्छे भएनन्, गालीबेईज्जत खेप्नुप¥यो’ उनले भनिन्, ‘वडाध्यक्षले नै ‘दमाई’ भनेर हामीमाथि विभेदपूर्ण कुरा गरे’
चौकीमा केटिले केटासंग नछुट्यादिन विन्ती गर्दागर्दै प्रत्यूत्तरमा वडाध्यक्ष रोकाले ‘अरू कोही नभेटेर यो दमाईसँग जानुपर्ने भन्ने के थियो? यो दमाईको घरमा के देख्यौ त्यस्तो? यो दमाईले के खान दिन्छ? अबदेखि नबोल्नु’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको मृतकका बावु गोरखबहादुरले सुनाए । ‘दलित भएकै कारण लाठे भएको छोरो गुम्यो,’ उनले भने ।
शोकाकुल संगमको परिवार आफ्नो छोराले गैरदलितकी छोरीसँग विहे गरेकै कारण गाली, धम्की खेपेर आत्मसम्मान गुमाएको दलित अभियन्ता विमल रणपहेँलीको भनाई छ । भने, ‘अन्र्तजातीय विवाहलाई नस्विकार्ने यो समाज नै जातीय विभेदका बाधक हुन्, यसरी दलितसंग गर्ने व्यवहार र नैतिकता गुमाएका दोषीमाथि कारबाही हुनुपर्छ’
ढुवानी ट्रयाक्टरमा काम गर्ने संगमको परिवारको सिलाईबुनाईबाट जिविका चल्छ । मेलमिलाप नभई दुवैलाई छुट्याईएपछि प्रहरी चौकीबाट संगम रुँदै घर फर्किएका थिए । भोलिपल्ट घरबाट हिँडेका संगम वेपत्ता भएपछि जेठ १३ मा सीताले प्रहरीमा खोजी दिन निवेदन दिइन् । गाउँघर, आफन्त सबैतिर खोजे पनि पत्तो लागेको थिएन । भोलीपल्ट झुण्डिएको अवस्थामा शव फेला परेपछि जेठ १५ गेत पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको थियो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी कृष्ण कुमार चन्दले मृतकले आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको बताए । संगमले बिहे नगरेको बताउँदै डिएसपी चन्दले भने, ‘मृतकको उमेर सानै छ, बिहे गरेको वैधानिकता मान्न सकिँदैन, कुटपिट भएको भए पोस्टमार्टम रिपोर्टमा देखाउनुपर्ने हो,’ उनले बालिका हराएको सूचनाका आधारमा संगमलाई पक्राउ गरिएको र बालबिझ्याईका रूपमा एकपटकलाई जनप्रतिनिधिको रोहबरमा अभिभावकको जिम्मा लगाईएको बताए ।
यता वैज्ञानिक समाजवादी पार्टी नेपाल भोजपुरले उक्त घटनाको गहिरो निन्दा गर्दै प्रेस वक्तव्यमार्फत जातीय विभेदकारी दोषीको छानविनका साथै दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।









