
भोजपुर । षडानन्द नगरपालिका र उक्त नगरपालिकाका वडाका कर्मचारीहरुले आर्थिक संकलन गरेर कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । षडानन्द नगरपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई कर्मचारीहरुले स्वास्थ्य सामाग्री खरिद गरी सहयोग गरेका हुन् ।
नगरपालिका क्षेत्रभित्र कार्यरत कर्मचारीहरुले एकलाख ५१ हजार तीनसय ३५ रुपैँया संकलनबाट ५ सेट शैया, २ थान व्हीलचियर, २५ थान पिपिई (पर्सनल प्रोटेक्टिभ ईक्यूपमेन्ट) सेट र एकसय थान एडल्ट डायपर खरिद गरी उक्त कोभिड अस्पताललाई सहयोग हस्तान्तरण गरेका हुन् ।
कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणमा केहि सहयोग पु¥याउने उद्देश्यले आर्थिक संकलन गरेर उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश विक्रम बस्नेतले बताए । कोभिड अस्पतालमा आउने विरामीलाई सहजता प्रदान गर्ने द्येयले सामाग्री सहयोग गरिएको उनले बताए ।
सहयोग सामाग्री ग्रहण गर्दै मेयर वीरबल राईले नगरपालिका र वडा राष्ट्रसेवक कर्मचारीहरुले तलब कटाएर अस्पताललाई गरेको सहयोगले कोभिड रोकथाम तथा नियन्त्रण धेरै सहयोग पुग्ने बताए । राईले भने, ‘कोरोनाको नयाँ भेरियन्ट आएसँगै योवर्ष कुनै सहयोग पाएनौं, आफ्नै स्रोतसाधनले सकेसम्म धान्दै आएका छौं, कोभिड अस्पताललाई व्यवस्थित बनाउने काममा कर्मचारीहरुको यो सहयोगले थप टेवा मिलेको छ’








