विराटनगरमा युवाहरुद्धारा भोकालाई भोजन

  सिलिचुङ संवाददाता

काठमाडौं । निषेधाज्ञाले गर्दा विराटनगरकी कञ्चन शाह काम गर्ने सपिङ मल बन्द छ । काममा जान नपरेपनि एकैछिन फुर्सद छैन उनलाई । विहान उठेदेखि बेलुकीसम्म सडक पेटीका भोकाहरुलाई निशुल्क भोजन गराउन व्यस्त हुन्छिन् ।

दाल, चामल र तरकारी जोहो गर्छिन् । पकाइ तुल्याइ गरेर प्याकिङ गरेर सडक पेटीका भोकाहरुलाई बाड्दै हिड्छिन् । ‘निषेधाज्ञाले गर्दा कमाइ गर्न नसकेर, पकाएर खान ग्यास चुल्हो नभएर सडक पेटीमा पुग्नु भएकाहरुलाई सेवाभावले खाना खुवाइरहेको हो,’ उनले भनिन् ।


अधिकांश मानिस कोरोना महामारीको डरले घरैभित्र छन् । विद्यार्थी दिपा दर्नाल पनि कलेज बन्द भएपछि खाना बाड्ने अभियानमा छिन् । ‘सबैजना डराएर बस्यौ भने सडकका भोका पेट कसले भरिदिन्छ, हामी युवा अघि सर्नुपर्छ भनेर सम्पुर्ण सेफ्टीसहित खाना खुवाउन लागेका हौं,’ उनले सुनाइन् ।

निशुल्क खाना अभियानमा कञ्चन र दिपा सहित विराटनगरका ३० जना युवाहरु संलग्न छन् । ‘हाम्रो अभियान’ नामक उनीहरुको टिमले गतबर्षको कोरोना महामारीबाट यो अभियान थालेको हो । युवा नेता वसिम आलमको नेतृत्वमा छाक टार्न सकस भएकाहरुलाई निरन्तर सहयोग गर्दै आएको अभियानमा नौ जना महिला सक्रिय रुपमा लागि परेका छन् ।

उनीहरुले गतबर्ष आफ्नै खर्चमा खाना खुवाउन सुरु गरेका थिए । पछि सहयोगी दाताहरुले दाल, चामल, तरकारी र नगद सयोग गरे । एक सय २० दिनसम्म बिहान बेलुकी गरेर दैनिक चार सय पचास जनालाई सडकमा खाना खुवाए ।

जाडो मौसममा तराईमा अत्यधिक हुस्सु, चिसो हुन्छ, गरिब, विपन्नहरुलाई धेरै प्रभाव पार्ने भएकाले सडकपेटीमा बस्ने, मजदुर, गरिब बस्ती, वृद्धाश्रम, मानवसेवा आश्रम, अनाथालयका चार हजार अशक्त, असहाय, विपन्नलाई लत्ताकपडा वितरण गरे ।

कोरोनाको दोस्रो लहरमा पनि महामारीको पर्वाहै नगरी २७ दिनदेखि निरन्तर खाना खुवाउदै आएका छन् । विहान बेलुकी तीन सय पचास भन्दा बढिलाई खाना खुवाउँछन् । डेरामा बस्ने विद्यार्थी, वृद्धाश्रम, अनाथालय, अपागंता भएका व्यक्तिहरुलाई खाद्यान्न राहत वितरण गर्दै आएका छन् ।

सुरुमा आफैले सुरुवात गरेपनि सहयोगी हातहरुबाट निरन्तर सहयोग पाइरहेका छन् । विराटनगरका दुई कृषकहरु कोपिन्द्र सिंह र गौरी भगतले तरकारी उपलब्ध गराउछन् । खाद्यान्न संकलन, पकाइतुल्याइ गर्न श्रीकृष्ण पार्टी प्यालेसका प्रमुख रोशन खड्काले पार्टी प्यालेस थलो निशुल्क दिएका छन् ।

‘हामीले सामाजिक कार्य, सेवाको भावनाले खाना त खुवाउदै आएका छौं, सहयोगी दाताहरुको सहयोगले झनै हौसला र उर्जा मिलेका छ, हामी यस निस्वार्थकार्यलाई निरन्तरता दिनेछौं,’ अभियानका नेतृत्व गर्दै आएका आलमले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार