
भोजपुर । सुख्खायामसंगै वर्षेनी खानेपानी संकट झेलिरहेका सदरमुकाम र आसपासका संकटग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति हुन थालेको छ । भोजपुुरको मेलम्ची मानिने सहरी खानेपानी आयोजनाअन्र्तगत तिनभंगाले खानेपानी आयोजनाको खानेपानी आएसंगै दैनिक जिवनयापन सहज बन्न थालेको छ ।
नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत गरी कुल ४९ करोड ७९ लाख ९८ हजार ३० रुपैँया लागतमा उक्त आयोजनाको पानी ल्याईएको हो
वर्षौंदेखि खानेपानीको हाहाकार मच्चिँदै आएको सदरमुकाममा खानेपानी पुगेपछि भोजपुर सदरमुकामबासी र आसपासका क्षेत्रका उपभोक्ताहरु हर्षित बनेका छन् । दैनिक दुई लाख लिटरको हाराहारीमा वितरण हुँदै आएको खानेपानी आपूर्ति बढेर अहिले करिब १० लाख लिटर पुगेको छ । भोजपुर नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८, ९ र वडा नम्बर १२ का करिब २२ सय ८० घरधुरीलाई खानेपानी आपूर्ति गरिएको छ ।
नयाँ तथा पुराना उपभोक्ताको घरमा पाइप लाइन जोड्ने काम तीव्र पारिएको सिलिचुङ खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष प्रवीण कुमार सुवालले बताए । उनका अनुसार ९२ प्रतिशत योजनाको काम सम्पन्न भएको र पूर्ण सम्पन्नपछि उपभोक्तालाई चौबिसै घण्टा पानी वितरण गरिने भएको छ । सुक्खाका कारण आलोपालोमा पानी व्यवस्थापन हुँदै आएपनि यो आयोजनाको पानी घरघरमा पुगेपछि सदरमुकामलगायत क्षेत्रमा खानेपानी आपूर्ति सहज बन्ने उनले बताए ।
नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत गरी कुल ४९ करोड ७९ लाख ९८ हजार ३० रुपैँया लागतमा उक्त आयोजनाको पानी ल्याईएको हो । झण्डै ३ वर्षअघि टेम्केमैयुङ गाउँपालिका १, तिम्माको तिनभंगाले मुहानबाट सुरु गरिएको काम एकसय १६ किलोमिटर लामो दुरी पार गर्र्दै सदरमुकाम ल्याईएको फिल्ड ईन्जिनियर लक्ष्मीप्रसाद चौधरीले बताए । चौधरीका अनुसार कोभिड १९ का कारण आयोजनाको म्याद असोज ११ गतेसम्म थप गरिएको छ ।
‘प्रतिधारा १५ हजार रुपैयाँ बुझाएका छाँै, आयोजनाको खानेपानी आएपछि खुसी लागेको छ,’ भोजपुर नगरपालिका ७ का उपभोक्ता मिङमा शेर्पाले भने । वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका सदरमुकाम र आसपास नगरक्षेत्रका स्थानीयको दैनिक जीवनयापन समेत फेरिएको छ । नियमित पानी नआउँदा एक ग्रागो पानीका लागि घन्टौँ भिडभाडमा पालो कुर्नुपर्ने सास्ती हटेको स्थानीय श्रृष्टि श्रेष्ठले सुनाईन् । ‘अब त बिहान बेलुका नै धारामा पानी आउँछ, पहिलाको जस्तो समस्या छैन,’ उनी भन्छिन् ।
अहिलेसम्म उक्त आयोजनाको खानेपानीका लागि १५ सय घरमा धारा जोड्ने काम सकिएको हुवासुई कन्काई जेभीले जनाएको छ । पुरानो र नयाँ आयोजना गरी अहिले २४ लिटर प्रति सेकेण्ड पानी वितरण भईरहेको छ ।







