भोजपुरमा नेकपा एकीकृत समाजवादीको प्रभाव न्यून

भोजपुर । प्रदेश १ को भावी मुख्यमन्त्रीका रुपमा हेरिएका राजेन्द्र राईको गृहजिल्लामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको प्रभाव अत्यन्त न्यून देखिएको छ ।

 

निर्वाचन आयोगले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न दिएको मंगलबारसम्ममा जिल्ला भरबाट केबल ६ जना मात्रै समाजवादीतिर लागेका छन ।

 

२०७४ को निर्वाचनमा भोजपुरका दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा एमाले विजयी भएको थियो। संघमा भने एमालेको साथ पाएर माओवादी केन्द्रका सांसद सुदन किराती विजयी भएका थिए ।

 

प्रदेश ’क’ मा एमालेका राजेन्द्र राई विजयी भएका थिए भने ’ख’ मा पनि एमालेकै शेरधन राईले जितेका थिए । प्रदेश ’ख’ मा विजयी एमालेका शेरधन राई तीन वर्ष मुख्यमन्त्री बनेर विदा भएका छन् । शेरधन पछाडि मुख्यमन्त्री बनेका एमालेका सचिव भीम आचार्य अल्पमतमा परेसँगै अहिले समाजवादीतिर लागेका राजेन्द्र राई सत्ताको दौडमा छन् ।

 

प्रदेश १ मा एमालेबाट विजयी १० जना सांसद समाजवादीतिर लागेका छन् । एमाले एक्लैको बहुमत रहेको प्रदेश सभामा अब एमालेसँग ४१ जना सांसद मात्रै बाँकी रहेका छन् ।

 

यस्तो अवस्थामा समाजवादीतिर लागेका सांसद राई कांग्रेस र माओवादीको साथ लिएर मुख्यमन्त्रीको दौडमा छन् । प्रदेश १ मा कांग्रेसका सांसद राजीव कोइराला पनि मुख्यमन्त्रीको दाबेदारमध्ये एक हुन् ।

 

आफूलाई मुख्यमन्त्रीका रुपमा अघि सारिरहेका राजेन्द्र राईले भने गृहजिल्ला भोजपुरमा विभाजित पार्टीका लागि कुनै प्रभाव देखाउन सकेनन् ।

 

उनकै गाउँमा समेत केबल तीनजना जनप्रतिनिधिले मात्रै नेकपा एकीकृत समाजवादी रोजेका छन् । राजेन्द्रको गृहनगर षडानन्द नगरपालिकाबाट एकजना वडा सदस्यसहित तीनजना समाजवादीतिर लागेका हुन् ।

 

त्यहाँ एमालेबाट निर्वाचित उपमेयर मेरिका राई एमालेमै बसेकी छन् राजेन्द्रको गृहनगर षडानन्द नगरपालिकाबाट वडा सदस्य विशाल राई तथा षडानन्द नगर कार्यपालिका सदस्यद्वय सुमन राई र गोविन्द विकले एमाले छाडेर समाजवादी रोजेका छन् ।

 

त्यहाँबाट कुनै पनि वडाअध्यक्षले एमाले छाडेर समाजवादी रोजेनन् । विभाजित दल रोज्न निर्वाचन आयोगले दिएको अन्तिम दिन मंगलबार भोजपुर नगरपालिकाकी उपमेयर ममिता राईले नेकपा समाजवादी रोजिन् ।

त्यस्तै ट्याम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख इन्द्रावती राई पनि समाजवादीतिर लागिन् । तर माधव नेपाल एमालेमा रहँदा उनीनिकट ट्याम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईसहितका जनप्रतिनिधिले समाजवादी रोजेनन् ।

 

केपी ओलीसँगको विवादका क्रममा माधव नेपाललाई साथ दिएका नेताहरु हरिबहादुर राई र शरण राईहरु पार्टी विभाजित हुँदा पनि एमालेमै बसेका छन् । उनीहरु २०५४ सालमा एमाले फुट्दा मालेतिर लागेका थिए ।

 

तर अहिलेको विभाजनमा उनीहरु एमालेतिरै बसेपछि जिल्लामा समाजवादीको प्रभाव कम देखिएको हो । संगठनमा राम्रो प्रभाव जमाएका उनीहरु एमालेमै बसेपछि समाजवादीको प्रभाव कमजोर बनेको हो ।

 

समाजवादी रोज्ने भोजपुरका अन्य जनप्रतिनिधिमा भोजपुर नगरपालिका–७ की वडा सदस्य राधिका तामाङ पनि रहेकी छन् ।

 

राजेन्द्रसहितका नेताहरुका कारण भोजपुरमा एमालेलाई धेरै क्षति हुने अनुमान थियो । तर अन्तिम दिनसम्मको अवस्थाले एमाले भोजपुरमा मजबुत देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार