परराष्ट्रमन्त्री खड्का र भारतीय विदेश मन्त्रीबीच न्यूयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरबीच अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ।

 

राष्ट्रसंघीय महासभामा भाग लिन गएका दुईजना समकक्षीबीच आपसी सम्बन्ध मजबुत बनाउने विषयमा कुरा भएको छ।

 

भेटपछि भारतीय विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरणमा दुई देशबीचको सहकार्य र निकट सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा कुरा भएको उल्लेख गरेका छन्।

 

‘मेरा नयाँ नेपाली साथी (परराष्ट्रमन्त्री) डा. नारायण खड्कालाई स्वागत गर्न पाउँदा खुसी छु’, जयशंकरले भनेका छन्, ‘हामी दुई देशबीचको विशेष किसिमको सम्बन्धलाई बलियो बनाउन नजिक रहेर काम गर्दै अघि बढ्नेछौँ।’

 

संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री  खड्काले यसअघि कुवेतका विदेशमन्त्री डा.अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

उनले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्।  त्यस अवसरमा उनीहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्द्धनबारे कुराकानी भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

 

भेटवार्ता व्यापार, लगानी, जलविद्युत् विकास, सीमापार ऊर्जा व्यापारलगायत आपसी हितका विषयमा केन्द्रित रहेको थियो।

 

दुवै देशका विदेशमन्त्रीले विगतका सहमतिहरू कार्यान्वयन गर्न सहमति पनि जनाएका नेपाली नियोगले जनाएको छ। शनिबार नै मन्त्री खड्काले ७६औँ महासभाका अध्यक्ष अब्दुल्ला शहिदसँग भेटवार्ता गरेका थिए।

 

भेटमा मन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घमा नेपालका प्राथमिकता, विश्व शान्ति, सुरक्षा, विकास, मानवअधिकार, राष्ट्रसङ्घीय शान्ति स्थापनाकार्य तथा अल्पविकसित देशहरूका निम्ति विशेष सहयोगबारे छलफल गरे।

 

मन्त्री खड्काले महासभाका अध्यक्षलाई नेपालबाट पूर्ण समर्थन हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।  प्रत्युत्तरमा अध्यक्ष शहिदले आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसङ्घमा आफ्ना प्राथमिकताबारे चर्चा गर्दै आफूलाई अध्यक्षमा नेपालबाट समर्थन भएकामा त्यसको सराहना गरे।

 

त्यसपछि शनिबारै परराष्ट्रमन्त्री खड्काले राष्ट्रसङ्घको शान्तिकार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग भेटवार्ता गरेका छन्।

 

त्यस अवसरमा उनीहरुबीच राष्ट्रसङ्घीय शान्ति स्थापनाको कार्यमा नेपाल र राष्ट्रसङ्घबीचको विद्यमान साझेदारीलाई अझ विस्तार गर्ने सम्बन्धमा विचार आदानप्रदान भएको छ।

 

त्यसक्रममा मन्त्री खड्काले शान्ति सेनामा नेपाली फौज बढाउन, नेपाललाई कार्य क्षेत्र र राष्ट्रसङ्घीय प्रधान कार्यालयमा उच्च ओहोदा सुनिश्चित गर्नुपर्ने नेपालको आह्वानलाई पुनः उठाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार