
तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ पुस २३ गते राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख (मुख्य अनुसन्धान निर्देशक) दिलिप रेग्मीलाई बर्खास्त गर्यो। ३० वर्षे सेवा अवधिअनुसार २०७६ जेठ १४ गतेसम्म पदावधि रहे पनि रेग्मीलाई सरकारले अप्रत्याशित रुपमा बर्खास्त गरेको थियो।
विशेष सेवा नियमावली, २०४४ लाई संशोधन गर्दै सरकारले मुख्य अनुसन्धान निर्देशकको पदावधि एक वर्ष घटाएर उनलाई हटाएको थियो। ओली सरकारले रेग्मीलाई बर्खास्त गर्नुको कारण खुलाएन। तर, विभिन्न तीन कारणले उनी बर्खास्त भएको जानकार स्रोतहरु बताउँछन्।
पहिलो, रेग्मीको राजनीतिक निकटता नेपाली कांग्रेससँग रहेको मानिन्थ्यो। त्यही निकटतालाई भजाएर आफूभन्दा वरिष्ठलाई पछि पार्दै उनी गुप्तचर प्रमुखमा बढुवा भएका थिए। कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले २०७२ जेठ १४ गते रेग्मीलाई गुप्तचर प्रमुखमा बढुवा गरेको थियो।
उनी बर्खास्तमा पर्नुको अर्को कारण हो, तत्कालीन अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआइजी) तथा वर्तमान गुप्तचर प्रमुख गणेश अधिकारी। रेग्मीलाई ओली सरकारले बर्खास्त गरेका बेला अधिकारीको एआइजीको कार्यकाल एक महिना मात्रै बाँकी थियो। त्यसैले उनी अनिवार्य अवकाशमा जाँदै थिए। एमालेनिकट मानिएका अधिकारीलाई गुप्तचर प्रमुख बनाउने ओलीको योजनाअनुसार नै त्यसबेला रेग्मीलाई बर्खास्त गरिएको जानकारहरु बताउँछन्।
लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएका बेला रेग्मीले नेताहरुका सूचना अख्तियारलाई दिने गरेको आरोप पनि उनी बर्खास्तीको एउटा कारण थियो। यसरी एमाले निकट र ओलीको विश्वासपात्र भएकै कारण अप्रत्याशित रुपमा गुप्तचर प्रमुख बनेका अधिकारीले ओली सरकारमा नहुँदा पनि उनलाई ‘गुण लगाइरहेको’ उच्च सुरक्षा स्रोतहरु बताउँछन्।
अधिकारीको यही ‘कनेक्सन’कै कारण सरकारका लागि गुप्तचरी गुनपर्ने निकाय अहिले ‘सरकारकै गुप्तचरी’ गर्दै सूचना ओलीनिवास बालकोटसम्म पुर्याउन सक्रिय रहेको जानकारी उच्च स्रोतले दिएको छ। सरकारका सूचनादेखि विभिन्न भेटघाट र प्रधानमन्त्री निवास बालुवाटारसम्मका सूचना गुप्तचरी निकायमार्फत् अहिले बालकोट पुग्ने गरेको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अर्थात्, प्रधानमन्त्री कार्यालयमा उप–अनुसन्धान निर्देशक (एसपी)को कमाण्डमा गुप्तचर विभागको टोली रहने व्यवस्था छ। २०७२ असोज २५ गते प्रधानमन्त्री नियुक्त भएको एक हप्तामै ओलीले बालुवाटारमा रहेका गुप्तचर अधिकारीहरु हटाएका थिए।
राज्यका लागि आवश्यक पर्ने सूचना संकलन र विश्लेषण गर्ने मुख्य जिम्मेवारी राअविको हुन्छ। सरकारको सफलता र असफलतामा यही निकायको भूमिका महत्वपूर्ण मानिन्छ। यो बेग्लै हो कि राअविको गुप्तचरी क्षमतामाथि प्रश्न पनि ठूलै उठ्छ। सूचनाको दुरुपयोग हुँदा सरकार नै असफल हुने बुझेका ओलीले तत्कालीन प्रधानमन्त्री कोइरालाले राखेका गुप्तचर हटाएर आफूनिकटलाई बालुवाटार प्रवेश गराएका थिए।
दोस्रोपटक २०७४ फागुनमा प्रधानमन्त्री बनेपछि ओलीले आफ्नो विश्वासपात्र र एमाले निकट मानिएका एसपी विमल डंगोल नेतृत्वको १५ सदस्यीय गुुप्तचर टोली बालुवाटारमा राखे। ओलीले आफ्नो विश्वासपात्र मानेर राखेका एसपीसहितको उक्त टोली अहिले पनि बालुवाटारमै छ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएको साढे दुई महिना पुगिसकेको छ। तर, अहिलेसम्म ओलीले राखेका गुप्तचरकै टोलीलाई देउवाले निरन्तरता दिएका छन्। ‘देउवाले सचिवालय चुस्त पार्न सकेका छैनन्। अझ कतिसम्म लापरबाही छ भने ओलीले राखेका सुराकीसमेत अहिलेसम्म बालुवाटारमै छन्। उनीहरुमार्फत् बालुवाटारको सूचना बालकोटसम्म पुग्ने गरेको हामीले पनि सुनेका छौं,’ कांग्रेसकै एक उच्च तहका नेताले भने। बालुवाटारमा कसैको प्रवेशदेखि भेटघाट, छलफल र भावी रणनीतिका सूचनाहरु उक्त टोलीबाट गुप्तचर प्रमुख अधिकारी हुँदै बालकोटसम्म पुग्ने गरेको छ। कांग्रेस महाधिवेशनदेखि आगामी चुनावसम्मको अवस्था कस्तो हुने भन्नेबारे अधिकारीले ओलीलाई ब्रिफिङ सुनाउने गरेको जानकारी स्रोतले दिएको छ।







