
लण्डन । गोर्खा भूतपूर्व सैनिक संघ गेसोले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई निरन्तरता दिन सरकारसंग माग गरेको छ ।
गोर्खाहरुको समस्या समाधानको टुंगो लाग्न बाँकी रहेकाले राजदुत रेग्मीलाई निरन्तरता दिन सरकारसंग माग गरेको हो । मंगलबार परराष्ट्रमन्त्री डा नारायण खड्कालाई एक ज्ञापनपत्र बुझाउँदै गोर्खा भूतपूर्व सैनिक संघ गेसोले गोर्खा वार्ता निष्कर्षमा नपुगञ्जेल राजदूत फिर्ता नबोलाउन माग गरेको छन । गेसोका उपसभापति जीतबहादुर राईको टोलीले परराष्ट्र मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाउदै राजदुत निरन्तरताको माग गरेका हुन ।
गेसोले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि बेलायत र नेपालका सरकारबीच वार्ताको मिति तय भइसकेको अवस्थामा राजदूत फिर्ता बोलाउने निर्णय अप्ठ्यारो पर्न सक्ने भन्दै राजदुत फिर्ता गर्ने निर्णय पुन: विचार गर्न सरकारसंग आग्रह गरेका छन ।
शुरुवातको चरणदेखि राजदुतले सम्पुर्ण कार्यहरु गरेकाले समग्र वार्ता नै अन्योलमा पर्ने ठहर गर्दै राजदुत निरन्तरतालाई जोड दिएका छन । साथै गोसोले गोर्खाहरुको हक अधिकारको सम्बन्धमा प्रभावकारी भुमिका खेलिदिन पनि सरकार समक्ष आग्रह गरेको छ ।








