बेलायत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाको शक्तिशाली राष्ट्रप्रमुखहरुसंग भेटघाट हुदै

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेश्रो साता बेलायतको स्कटल्याण्डमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिदैछ ।

 

प्रधानमन्त्री देउवा लन्डन हुँदै स्कटल्यान्ड पुग्ने भ्रमण कार्यक्रम बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । लन्डनमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग भेटवार्ताका लागि नेपालले कूटनीतिक च्यानलबाट आग्रह गरेको छ ।

 

‘यद्यपि प्रधानमन्त्री जोनसनसँग भेट हुन्छ या हुँदैन, बेलायती पक्षबाट जवाफ आइसकेको छैन । भेटवार्ता नहुने भए प्रधानमन्त्री लन्डन नजाने बताइएको छ ।

 

दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमण गरी तत्कालीन प्रधानमन्त्री टरिजा मेसँग भेटवार्ता गरेका थिए । स्वीट्जरल्याण्ड भ्रमणपछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको भ्रमण गरेका थिए ।

 

परराष्ट्र मन्त्रालयले देउवाको लन्डन भ्रमणको चाँजोपाँचो मिलाउन त्यहाँस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।

 

प्रधानमन्त्री देउवाको बेलायतसँग लामो समयदेखि घनिष्ठता रहेको मानिन्छ । उनी सन् १९८९—१९९० मा बेलायतको प्रतिष्ठित लन्डन स्कुल अफ इकोनोमिक्समा राजनीतिशास्त्रका विद्यार्थी थिए ।

 

परराष्ट्र मन्त्रालयको अनुसार विश्वका विभिन्न मुलुकका नेतासँग प्रधानमन्त्री देउवाको भेटवार्ताका लागि पत्राचार गरिएको छ ।

 

बेलायती प्रधानमन्त्री जोनसनका अलावा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमियो किसिदा, पूर्व अमेरिकी विदेशमन्त्री तथा जलवायु परिवर्तनसम्बन्धी अमेरिकी राष्ट्रपतिका विशेष दूत जोन केरीसँग पनि बेलायत भ्रमणमा भेटवार्ता मिलाउन आग्रह गरिएको मन्त्रालयका अधिकारीहरुले बताए ।

 

मोदीसँग भेट भए त्यो देउवा प्रधानमन्त्री भएयताको पहिलो साक्षात्कार हुनेछ । देउवा भारत सरकार तथा भारतीय जनता पार्टीसँग सम्बन्ध सुधार्न इच्छुक देखिन्छन् ।

 

अघिल्लो साता पार्टी सहमहामन्त्री प्रकाशशरण महतलाई दूतका रुपमा भारत पठाएका थिए । नेता महतले प्रधानमन्त्री देउवाको चाँडै भारत भ्रमण हुने संकेत समेत गरेका छन् ।

 

भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री फुमियो किसिदा पनि संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन अन्तर्गतको ‘वर्ल्ड लिडर्स समिट’ मा निम्त्याइएका छन् । तर, भारत र जापानले भ्रमणको औपचारिक घोषणा गरेका छैनन् ।

 

विश्वका विभिन्न मुलुकका शीर्ष नेता जलवायु सम्मेलनमा सहभागी हुन स्कटल्यान्डमा भेला हुन लागेको अन्र्तराष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । चीनका तर्फबाट सम्मेलनमा राष्ट्रपति या प्रधानमन्त्रीको तहमा सहभागिता हुने छैन । चिनियाँ विदेशमन्त्री वाङ यी वा अन्य कुनै मन्त्री सम्मेलनमा सहभागी हुने समाचारहरु सार्वजनिक भएका छन्।
गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएयता देउवा पहिलो विदेश यात्रामा निस्कन लागेका हुन् । अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन अन्र्तगतको ‘वर्ल्ड लिडर्स समिट’ मा देउवा सहभागी हुन लागेका हुन् ।

 

नोभेम्बर १ र २ मा हुने सम्मेलनलाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । उनले नेपालजस्ता कम विकसित मुलुकले जलवायु परिवर्तनका कारण भोग्नुपरेका चुनौतीबारे बोल्ने तयारी गरेका छन् ।

 

सम्बोधनमा उनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयन हुनुपर्ने नेपालको धारणा दोहोर्याउनेछन् ।

 

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा स्कटल्यान्ड जाने प्रतिनिधिमण्डलको टुंगो लगाएको थियो। प्रधानमन्त्रीको भ्रमणदल १७ सदस्यीय हुनेछ ।

 

टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव, मन्त्रालयका सचिव प्रेमनारायण कँडेल, परराष्ट्र सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, चारजना सुरक्षाकर्मी, दुईजना पत्रकारलगायत रहनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार