गोर्खाहरुको माग पुरा गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको आश्वासन

लण्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गोरखा भूतपूर्व सैनिकहरुको समस्याका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । आइतवार नेपाली दुताबास लण्डनमा गोर्खा भूतपूर्व सैनिकका संघसंस्थाहरुसितको सामूहिक भेटमा प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिनुभएको हो ।

 

भेटमा प्रधानमन्त्री देउवाले चाडै बार्ता टोली गठन गरेर गोर्खाहरुको समस्या समाधानका लागि नेपाल सरकारले सकरात्मक पहल गर्ने गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यवहाक सभापति धर्म तामाङले प्रधानमन्त्रीको भनाई उदृत गर्दै नेपाल फर्कने बित्तिकै बेलायतसित वार्ता गर्नका लागि नेपाल सरकारका तर्फबाट वार्ता टोली बनाउने बताउनुभयो ।

 

प्रधानमन्त्री देउवाले बेलायतको संसदमार्फत पनि गोरखाहरुको समस्याका बारेमा जनमत बनाउन आवश्यक पहल गर्न गोरखाहरुलाई सुझाव दिएको कार्यवहाक सभापति तामाङले बताए । बेलायत र नेपालबीच सरकारी तहमा यही डिसेम्बर महिनामा वार्ता हुने बताइएको छ ।

 

भेटमा तामाङले प्राविधिक समितिको १३ बुँदे प्रतिवेदनका आधारमा वार्ताको काम अगाडि बढिरहेको र सयौँ वर्षदेखि अधूरो र अपूरो कार्यलाई पूरा गर्ने ऐतिहासिक अवसर प्रधानमन्त्रीलाई प्राप्त भएको धारणा राखेका थिए ।

 

भेटमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का कार्यबाहक सभापति धर्मबहादुर तामाङ, ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजिडब्ल्यूएस) युकेका अध्यक्ष टिकेन्द्रदल देवान, उपाध्यक्ष राष्ट्र राई, प्रवक्ता प्रकाश गुरुङ, गोरखा सत्याग्रहका निर्देशक ज्ञानराज राई, सूर्य नेम्वाङ, धनबहादुर गुरुङ र मेजर जुद्धबहादुर गुरुङ, गोरखा पिस फाउण्डेसनका उदयबहादुर गुरुङ, गोरखा नागरिकता निरन्तरता समितिका संयोजक थर्कबहादुर राना, ग्रेनिच गोरखा एक्स सर्भिसमेन्स एसोसिएसनका अध्यक्ष हरिकुमार मल्ललगायत सहभागी थिए ।

 

यसैगरी परराष्ट्र सचिव भरतराज पौड्याल, पूर्व राजदुत डा दुर्गाबहादुर सुवेदी, कार्यबाहक राजदुत श्रीमती रोशन खनाल पनि उपस्थित थिए ।

 

भेटमा प्रधानमन्त्री देउवाले नागरिकता निरन्तरता बिषयमा संविधान संशोधन गर्नुपर्ने भएकाले त्यो तत्काल सम्भावना नरहेको बताउनुभएको थियो । भविष्यमा दुईतिहाई वहुमतको आधारमा संविधान संशोधन गरेर उक्त व्यवस्था गर्न सकिने प्रधानमन्त्रीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार