
भोजपुर । दुर्गम जिल्लाको कथाबस्तुमा बन्ने ‘गाउँ आएको बाटो’ फिल्म पुर्वी पहाडी जिल्ला भोजपुरमा छायांकन हुने भएको । भोजपुरको दक्षिणी सिन्द्राङ र खैराङको गाउँमा फिल्म छायांकन हुने निमार्ण पक्षले जनाएको छ ।
दयाहाङ राईको मुख्य भूमिका रहने फिल्मको निर्देशन नवीन सुब्बाले गर्दैछ । नविन सुब्बाले दश वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गर्दै छन् । गाउँको पुरानो कथाबस्तुलाई समेटेर उनले नयाँ फिल्म ‘गाउँ आएको बाटो’ बनाउन लागेका हुन् । फिल्ममा दयाहाङको अलावा पशुपति राई, खान्नुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ ।
फिल्मको निर्मातामा अमोद राई रहेका छन् । फिल्मलाई अमेरिकन छायांकार मार्किन कापरोनले खिच्ने छन् । भोजपुरको ग्रामीण सिन्द्राङ र खैराङ क्षेत्रलाई छायांकन स्थल लक् गरिएको यस फिल्मले राई समुदायको कथा भन्नेछ । पुराना खालको फुसको छाना भएको गाउँलाई केन्द्रीत हुने निमार्ण पक्षले जनाएको छ ।
कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, युकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, युके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिहरू फिल्मको सह–निर्मातामा रहेका छन् । निर्देशक नवीन सुब्बाले ‘नुमाफुङ’ ‘गुड बाई काठमाडौँ’ जस्ता फिल्मको निर्देशन गरेका छन् ।








