भोजपुर क्याम्पसलाई १ करोड ९२ लाखको भुकम्प प्रतिरोधी भवन

भोजपुर । जस्ताको अस्थायी टहरामै कष्टकर पढाई हुँदै आएको भोजपुर बहुमुखी क्याम्पसलाई गोर्खा वेल्फेयर ट्रष्ट नेपालले एक करोड ९२ लाख बराबरको भवन हस्तान्तरण गरेको छ । ०७२ सालको महाभुकम्पले क्याम्पसका अधिकांश भौतिक संरचनाहरुमा नराम्रो क्षति पु¥याएपछि विद्यार्थीको पठनपाठनलाई सहज बनाउन कुल एक करोड ९२ लाख ३७ हजार एक सय ६३ रुपैँयाको लागत आर्थिक र प्राविधिक सहयोगमा ट्रष्टले आठ कोठे भुकम्प प्रतिरोधात्मक भवन बनाईदिएको हो ।
वि.स. २०२२ सालमा स्थापित क्याम्पसमा ०७२ को भुकम्प पश्चात विद्यार्थीलाई सोही जस्ताको अस्थायी टहरामा पठनपाठन हुँदै आएको थियो । ट्रष्टले क्याम्पसको भौतिक संरचनाको विश्लेषण गरी परियोजना अन्र्तगत ०७४ साल कार्तिक २० गतेबाट निर्माण कार्य थालेको थियो । ट्रष्टको नियामानुसार ५ महिनाको समायावधि अर्थात ६ जुन २०१७ देखी सुरु निर्माण कार्य ६ अप्रिल २०१८ मा सम्पन्न गरेको थियो । तोकिएकै समयावधिमा भवन निर्माण सकिएपछि नयाँ शैक्षिक सत्रबाट पठनपाठन पनि सुचारु भएको छ ।
ट्रष्टको सहयोगमा बनेको उक्त भवन सञ्चालनमा आएपछि विद्यार्थीलाई अब पहिलेजस्तो समस्या नरहने भवन निर्माण समितीका संयोजक एवम् प्राध्यापक भुलानाथ राईले बताए । ‘ट्रष्टले क्याम्पसको ३५ प्रतिशत आवश्यकता पुरा गरिदिएको छ । बाँकी ७० प्रतिशत आवश्यकताका लागि सहयोगी हात खोजी रहेका छौँ ।’ उनले भने, ‘अब विद्यार्थीलाई स्वच्छ, शान्त र आरामदायी वातारणमा पढ्न सक्नेछन् । प्राध्यापकहरुलाई पहिले जस्तो असहज परिस्थितीमा समस्या खपेर अध्यापन गराउनुपर्ने छैन ।’
सहज वातावरणमा सुन्दर, मजबुत भवनमा पढ्न मिल्ने भएपछि विद्यार्थीहरु पनि उत्साहित देखिएका छन् । स्नातक तह तृतीय वर्षमा अध्ययनरत प्रताप तामाङ हर्षित हुँदै भने, ‘अब हामीले पहिले जस्तो पढ्दा समस्या नहुने भो । पहिले भुकम्पको डर, त्यसमाथि गर्मीमा जस्ताको टिन ततिएर तातो, जाडोमा सित झरेर चिसो, हावाहुरी चल्दा, पानी पर्दा पढाईमा धेरै बाधा पुग्थ्यो । अब यी सबै सास्ती हट्ने भए ।’
वर्तमान नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो शिक्षा र राजनिती सुरु गरेको क्याम्पस ०७२ सालको भुकम्पले अति खण्डहर बनाएको थियो । क्याम्पसका लागि गोर्खा वेल्फेयर ट्रष्टको यो दोश्रो सहयोग हो । यसअघि करिब २२ वर्ष अगाडी मेजर बलिमान राईको पहलमा तात्कालिन क्याम्पस प्रमुख चर्तुभक्त राईको समयमा पनि ट्रष्टले पुस्तकालयका लागि सहयोग गरेको थियो । कुनै समयको सौन्दर्य बोक्ने क्याम्पसको तीनजुरे मुलभवन नै महाभुकम्पले क्षतविक्षत पारेपछि ठट्टा, खिसी गर्दै क्याम्पस गेट अगाडी हिँड्ने सर्वसाधरणहरु नवनिर्मित भवनको प्रंशसा गाउन मात्र नभई आएर फोटो खिच्ने गरेका छन् । स्थानिय बुद्धी राईले भने, ‘राष्ट्रपति, मुख्यमन्त्री पढेको क्याम्पसलाई यो भवनले बल्ल सुहायो ।’ 
अहिले उक्त नवनिर्मित भवन क्याम्पसको चिनारी र आकर्षणको प्रतिक बन्दै गएको प्राध्यापक अर्जुन तामाङले आफुले अनुभूति गरेको सुनाए । उनी भन्छन्, ‘पहिले छिर्न नमान्ने बाहिरका सर्वसाधरणहरु अहिले क्याम्पस परिसर छिरेर भवनको प्रशंसा गर्न थालेका छन् । जसले हामीलाई पनि यो भवन क्याम्पस चिनाउने चिनारीको रुपमा रहेको महसुस गराएको छ ।’
यसरी राष्ट्रपति र मुख्यमन्त्री पढेको ऐतिहासिक क्याम्पसलाई सहयोगी हात बढाउन पाएकोमा आफुहरुलाई भाग्यशाली ठानेको गोर्खा वेल्फेयर ट्रस्ट नेपालका उप क्षेत्र निर्देशक हेमचन्द्र राई बताए । उनले भने, ‘बोल्नुभन्दा काम गरेर देखाउनु गोर्खालीको काम हो । आगामी दिनमा पनि क्याम्पसलाई सहयोग गरिरहनेछौँ ।’ ट्रष्टले यसअघि ०७२ सालको भुकम्पले क्षति पु¥याएका क्षेत्रमा १२ सय बढि भौतिक संरचना बनाई दिएको छ । खानेपानी, पुल, स्कुल भवनबाहेक ट्रष्टले प्राकृतिक प्रकोपको भुकम्प प्रतिरोधतिर कसरी जाने भन्नेमा आफ्नो कामहरु अगाडी बढाएको उप क्षेत्र निर्देशक राईले बताए । साथै ट्रष्टले अहिले मेडिकल क्षेत्रमा पनि काम गरिरहेको जनाएको छ । हाल क्याम्पसमा स्नातक तहको शिक्षा, मानविकी, व्यावस्थापन र समाजशास्त्र संकाय र स्नातकोत्तर तहको नेपाली र ईपीएम विषयमा गरी करिब ६ सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार