भोजपुरको दिंलामा वडाको सिफारिसले निःशुल्क उच्च शिक्षा दिदै नगरपालिका

भोजपुर । जिल्लाको उत्तरी दिंलामा निःशुल्क उच्च शिक्षा पढ्न पाएपछि विद्यार्थीहरु मंहगो खर्चेर जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । शिक्षाका ज्योती बालागुरु षडानन्द अधिकारीको जन्मस्थल षडानन्द नगरपालिका दिङ्ला बजारमा ८ वर्षअघिबाट सञ्चालनमा आएको षडानन्द बहुमुखी क्याम्पसमा निःशुल्क स्नातक तहको पढाई शुरु भएपछि विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।
प्लस टु सकेर बाहिर जानुपर्ने बाध्यताबाट पन्सिदै आफ्नै ठाउँमा निशुल्क सहुलियत उच्च शिक्षा लिन सहज भएपछि यहाँका ग्रामिण भेगका विद्यार्थीहरु उत्साहित बनेका छन् । ‘वडाको सिफारिसले सित्तैमा पढ्न पाउँदा एकातिर खर्च बचेको छ भने अर्कोतिर घरकै खाना खाएर पढ्न भ्याईन्छ ।’ स्नातक तह शिक्षा संकाय प्रथम वर्षमा पढ्दै गरेकी षडानन्द नगरपालिका मुलपानीकी सपना तामाङले भनिन्, ‘यस क्याम्पसमा पहिले बिएड पढाई नहुँदा धेरै खर्च गरेर पढ्नलाई कि सदरमुकाम कि त खाँदबारी, धनकुटा, धरान जानुपथ्र्याे अहिले आएर त्यो समस्य हटेको छ ।’
गतवर्ष भदौमा षडानन्द नगरपालिकाका जनप्रतिनिधीहरुसंग क्याम्पस व्यवस्थापन समितिको संयुक्त बैठकको निर्णयले दुर्गममै स्नातक तहमा विद्यार्थी आकर्षित गर्न नगरपालिका तथा वडाबाट सिफारिस लिएर आउने विद्यार्थीहरुलाई क्याम्पसमा निःशुल्क भर्ना सुरु गरिएको थियो । षडानन्द नगरपालिका केउरेनीपानीका सन्तोष श्रेष्ठ भन्छन्, ‘षडानन्द अधिकारीको जन्मथलोमा खोजेजस्तै निःशुल्क स्नातक तह पढ्न पाउँदा खुशी लागेको छ । अझ मास्टर डिग्रीको क्लास पनि यहीँ भईदिए झन सजिलो हुने थियो ।’
नगरपालिकाको पहलमा क्याम्पसले शैक्षिकसत्र ०७४÷७५ मा स्नातक तह चार वर्षे शिक्षा र व्यावस्थापन संकाय प्रथम वर्षमा निशुल्क भर्ना सुरु गरेको हो । शैक्षिकसत्र ०७४÷७५ बाट सुरु गरिएको नयाँ व्यवस्थाले विद्यार्थीको संख्यासंगै संकायगत विषयहरुमा पनि बृद्धि गरिएको क्याम्पसले जनाएको छ । अहिले स्नातक तहमा शिक्षा संकाय अन्र्तगत यसअघि नेपाली र अर्थशास्त्र विषयमा अध्यापन हुँदै आएकोमा अहिले स्वास्थ्य, जनसंख्या, शिक्षा योजना व्यावस्थापन र अंग्रेजी विषयको पठनपाठन सुरु गरिएको छ भने हाल क्याम्पसमा १५ जना प्राध्यापकहरु छन् । नगरपालिका लगायत नगरपालिका क्षेत्रका सबै वडाले छुट्याएको बजेटले प्राध्यापकको तलब समायोजन गरिएको जनाएको छ ।
०६७ सालमा स्थापित क्याम्पसमा स्थापना कालदेखि नै विद्यार्थी संख्या अभाव र आर्थिक अभावले थला पर्दै आएको थियो । जहानियाँ राणाशासनकालमा पनि शिक्षाका ज्योती छर्ने बालागुरु षडानन्दको विरासतलाई निरन्तरता दिनका लागि पनि नगरपालिकाले निरन्तरता दिएको उपमेयर मेरिका राईले बताईन् । उनले भनिन्, ‘शिक्षाको आँखाका ज्योती बालागुरुको विरासतलाई कायम राख्न पनि यो प्रयास गरेका हौँ । हामी जनप्रतिनिधिहरुको उच्च शिक्षाप्रतिको लगाव र चाहनाले दुर्गमका विद्यार्थीलाई टाढाटाढा कष्ट गरेर पढ्न नपरोस् भनेर यो निर्णय गरेका हौँ ।’
४९ जना विद्यार्थीमध्ये ४२ जना विद्यार्थीहरुले वडाको सिफारिसबाट निःशुल्क पढिरहेको र अघिल्लो वर्षका बाँकी ७ जना विद्यार्थीले पनि नयाँ व्यावस्थासंगै निःशुल्क पढिरहेको क्याम्पस प्रमुख नरेन्द्र बस्नेतले जानकारी गराए । ‘निःशुल्क क्याम्पस पढ्न पाउने भएपछि आर्थिक अवस्थाले विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने भएकाले विद्यार्थीको संख्यामा बृद्धि आएको छ ।’ उनले भने, ‘स्थापनाकालदेखी नै आर्थिक अभाव र विद्यार्थी नहुनाले क्याम्पस धान्न मुस्किल हुँदै आएको थियो । नगरपालिका, जनप्रतिनिधीको साथसहयोगले यो सम्भव भएको छ ।’
साथै क्याम्पस परिसरमै भवन निर्माणका लागि विनियोजित १० लाखको लागतमा अर्को पठनपाठन भवन बनेको छ । नगरपालिकाले क्याम्पसको शैक्षिक, भौतिक विकास गर्न आर्थिक वर्ष ०७४÷७५ मा क्याम्पसको भवन निर्माणका लागि १४ लाख ५० हजार विनियोजन गरेको थियो । उक्त रकमबाट भवन निर्माणको काम ईस्टिमेट अनुसार नै सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार