भोजपुरमा सवा दुई करोड बढिको रुद्राक्ष लुटियो

  सिलिचुङ समाचारदाता

रूद्राक्ष फायल तश्विर

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका २, कुदाककाउलेको ताबुमा रहेको करिब सवा दुई करोड बराबरको रुद्राक्ष एक अज्ञात समुहले लुटेर लगेका छन् । शुक्रबार बिहान करिब ५ बजेतिर अन्दाजी ७र८ जनाको अज्ञात समुहले स्थानीय हिमाल तामाङ र नगरपालिकाका मेयर बीरबल राईले साझेदारीमा लगाएको करिब २ करोड १५ लाख मूल्य बराबरको रुद्राक्ष चोरी गरेर भागेको जनाईएको छ ।

हतियारधारी अज्ञात समुहले प्रतिगोटा एक लाख रुपैँया पर्ने रुद्राक्षको बोटको हाँगा नै काटेर लुटेर लगेका छन् । रुद्राक्ष लुट्ने समुहले उनीहरुको साथमा रहेको बन्दुकको कुञ्जोले कुटपिट गरेका थिए ।

जग्गाको सिमाना साझेदारीमा भएकाले दुबैजनाले लगाएको उक्त रुद्राक्षको बगानलाई एकवर्ष अघि षडानन्द नगरपालिका ३, खार्तम्छाका अगमसिं राईले ३ वर्षका लागि ३० लाख रुपैँयामा ठेक्कामा लिएका थिए । रुद्राक्ष बगानमा चारजना हेरालु राखेको भएपनि अज्ञात समुहले उनीहरुमाथि कुटपिट गरि रुद्राक्षका डाला काट्दै, भाँच्दै रुद्राक्ष लुटेर लगेको बगानका हेरालु साल्पासिलिछो गाउँपालिका दोभानेका ओमकार थुलुङले सुनाए ।

अज्ञात समुहले बगानको सबैभन्दा राम्रो मुखादार र फलेको रुद्राक्ष लुटेर लगेको अर्का हेरालु षडानन्द नगरपालिका ६, केउरेनीपानीका कुबेर राईले बताए । उनका अनुसार ती हतियारधारी अज्ञात समुहले प्रतिगोटा एक लाख रुपैँया पर्ने रुद्राक्षको बोटको हाँगा नै काटेर लुटेर लगेका छन् । रुद्राक्ष लुट्ने समुहले उनीहरुको साथमा रहेको बन्दुकको कुञ्जोले कुटपिट गरेको उनले बताए ।

विशेष कार्यालयको कामले आफु भोजपुर सदरमुकाम आएकाबेला उक्त चोरी भएको मेयर राईले बताए । मेयर राई र तामाङले करिब ३ सय रोपनी जग्गामा लगाएको रुद्राक्षमध्ये सबैभन्दा बढि फलेको र राम्रो बोटको सबै रुद्राक्षका दाना चोरी भएको बताए । ‘म नगरपालिकाको कामले सदरमुकाम र हिमाल तामाङ गाउँबाहिर भएका बेला चोरी भयो ।’ उनले भने, ‘त्यो लुटिएको बोटमा फलेको रुद्राक्ष अहिलेको बजार मूल्यदरमा प्रतिगोटा एक लाख रुपैँयासम्म पर्छ ।’

ईलाका प्रहरी कार्यालय दिङलाका अनुसार हातहतियारसहित आएका अज्ञात समुहले रुद्राक्षका रेखदेख गर्न बसेका दुईजना हेरालुलाई नियन्त्रणमा लिएर रुद्राक्ष लुटेर लगेको जनाईएको छ । उक्त समुहले राम्रो बोटको सबै रुद्राक्ष लुटेर घटनास्थलदेखि पश्चिम छिमेकी जिल्ला खोटाङको सिमानातिर भागेको हुन सक्ने ईलाका प्रहरी कार्यालय दिङ्लाका ईन्सपेक्टर सञ्जिव ओलीले जनाए । उनले भने, ‘हातहतियारसहित आएका ती अज्ञात समुहले १२र१३ मिनेटको समयावधिभित्र हेरालु ओमकार र कुबेरलाई कुटपिट गरी रुद्राक्ष लुटेर लगेको बताईएको छ । खोटाङको सिमानातिर भागेको सुचनाका आधारमा हामीले खोटाङको जिल्ला प्रहरी कार्यालयलाई समेत खबर गरेका छौँ ।’

घटनापश्चात ईलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी कुदाककाउलेबाट २० जनाको प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । घटनाको पूर्ण विवरण, थप अनुसन्धान र उक्त अज्ञात समुहको खोजी कार्य भईरहेको उनले बताए । मेयर राईले लुटपाटपछि जिल्ला प्रहरी कार्यालय भोजपुरमा आएर किटानी जाहेरी दिएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार