चिर्पटले हानेर युवकको हत्या

  सिलिचुङ सम्वाददाता

फायल तश्विर

भोजपुर । व्यक्तिगत रिसिबीका कारण दाउराको चिर्पट प्रहारबाट एक युवकको मृत्यू भएको छ । षडानन्द नगरपालिका ५, आँपटारेस्थित स्थानीय २७ वर्षिय मान बहादुर मगरले सोही ठाउँका २६ वर्षिय सुरेश राईलाई दाउराको चिर्पटले हानेर गम्भिर घाईते बनाएपछि उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यू भएको हो ।
मंगलबार साँझ करिब ६ बजेतिर स्थानीय ‘पञ्च’ भनिने मान बहादुर मगरले व्यक्तिगत रिसिबीले राईमाथि चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट गम्भिर घाईते भएका राईलाई तत्काल तुम्लिङटारस्थित मनकामना अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गहिरो चोट लागेका राईको उक्त अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर चरित्र विक्रम कार्कीले बताए ।
घटनाका आरोपी मगरलाई अस्थायी प्रहरी चौकी कात्तिकेघाटबाट खटेको प्रहरी टोलीले गएराती नै घरैबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दिङ्लामा बुझाईएको थियो । मृतक राईको लासलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखवासभामा राखिएको छ भने घटनाका आरोपी मगरमाथि अनुसन्धान चलिरहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार