चिनियाँ रुद्राक्ष व्यापारीलाई गाउँ पस्न बन्देजपछि किसानको व्यापार चौपट

  सिलिचुङ सम्बाददाता

षडानन्द नगरपालिका दिङ्लास्थित नर्सरी गरिएका रुद्राक्ष । तश्विर/सिलिचुङ

भोजपुर । उत्तरी भेगको प्रमुख आम्दानीको श्रोतको रुपमा रहेको रुद्राक्षलाई मंहगो मुल्य लगाएर किन्ने व्यापारीमाथि लगाईएको प्रतिबन्धले किसान मारमा परेका छन् । जिल्लाको उत्तरी षडानन्द नगरपालिका क्षेत्रमा बर्षेनी करोडौँ मुल्यमा किनबेच हुने रुद्राक्ष पैठारीका लागि लैजाने चिनियाँ व्यापारीहरुलाई गाउँ पस्न बन्देज गरिएपछि किसानले उत्पादन गरेको रुद्राक्ष कारोबारमा समस्या आएको हो ।

नगरपालिकाले दिएको निर्देशन अनुसार  नै चिनियाँ व्यापारीको व्यक्तिगत सुरक्षाका लागि गाउँ पस्न रोक लगाईएको हो ।

प्रमुख आम्दानीको श्रोत रहेको रुद्राक्षका दाना टिप्ने सिजनमै नगरपालिकाले ल्याएको यस्तो नीतिले किसानले उत्पादन गरेको रुद्राक्षको माग घटेको कृषकहरुको गुनासो छ । टुरिस्ट भिसा र विजनेस भिसामा आएका व्यापारीलाई समेत गाउँ पस्न बन्देज लगाईएपछि किसानको व्यापारमा समस्या आएको उनीहरु सुनाउँछन् । गत भदौ पहिलो हप्ता नगरपालिकामा जिल्ला प्रशासन कार्यालय, जिल्लाका सुरक्षा निकाय र नगरपालिकाको संयुक्त बैठकले विदेशी व्यापारीको सुरक्षाका लागि गाउँ पस्न रोक लगाउने निर्णय गरेको थियो ।
नगरपालिकाको सो निर्णयपछि किसानहरुले सोचेअनुसारको रुद्राक्ष व्यापार गर्न नपाएको गुनासो गरेका छन् । दिङ्लाका स्थानीय प्रमेशचन्द्र नेपालले भने, ‘प्रहरीले वर्षेनी नियमित रुपमा आईरहने चिनिँया व्यापारीलाई गाउँ पस्न रोक लगाएपछि ती व्यापारीहरुलाई बजार मै लगेर दाना देखाउँदा राम्रो मुल्यमा लान नमान्ने गरेका छन् । जसले व्यापार एकदमै चौपट भएको छ ।’ व्यापारीहरु आउन छाडेपछि लाखौँको मुल्यमा बिक्रि हुने रुद्राक्षको मागमा कमि आएको अर्का स्थानीय कृषक भविन्द्र कार्कीको गुनासो छ । रुद्राक्षको सिजनमै नगरपालिकाले लागू गरेको निर्णयले दशैँ खर्च समेत टार्न समस्या भएको उनले बताए ।
यता इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी ईन्चार्ज सञ्जिव ओलीले नगरपालिकाले दिएको निर्देशन अनुसार विदेशी व्यापारीको व्यक्तिगत सुरक्षाका लागि गाउँ जान रोक लगाएको बताए । ‘नगरपालिकाको निर्णयपश्चात नै हामीले उक्त निर्देशनको पालना गरेका हौँ ।’ उनले भने, ‘व्यापारीहरुको व्यक्तिगत सुरक्षाका लागि पनि उनीहरुलाई बजार क्षेत्रमै बसेर रुद्राक्षको कारोबार गर्न अनुमति दिएका छौँ ।’ हाललाई चिनियाँ व्यापारीका लागि षडानन्द नगरपालिकाको दिङ्लाबजार र साल्पासिलिछो गाउँपालिकाको कुलुङबजारमा मात्र बस्न, रुद्राक्षको कारोबार गर्न अनुमति दिईएको छ । त्यस्तै किसानहरुलाई बजारमै आएर रुद्राक्षको कारोबार गर्न पाउने व्यवस्था रहेको प्रहरी ईन्चार्ज ओलीले बताए ।
नगरपालिकाले पनि रुद्राक्ष कारोबारका लागि गाउँगाउँ हिँड्ने चिनिँया व्यापारीमाथि हुन सक्ने लुटपाट, चोरी, सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै उक्त निर्देशन अनुरुप निर्णय गरिएको जनाएको छ । नगरपालिकाका मेयर बिरबल राईले व्यापारीको व्यक्तिगत सुरक्षालाई विशेष ध्यान दिँदै गाउँ पस्न रोक लगाउने निर्णय गरेको बताए । उनले भने, ‘व्यापारीहरु पैसा बोकेर हिँडिरहेका हुन्छन् । उनीहरुमाथि हुन सक्ने सम्भावित घटना नघटोस् भनेरै यस्तो निर्णय ल्याएका हौँ ।’
कुनैबेला भारतमा मात्रै निकासी हुने गरेको रुद्राक्ष अहिले इन्डोनेसिया र चाइनामा समेत निकासी हुने गरेको यहाँका व्यापारीहरु बताउँछन् । अहिले चिनियाँ व्यापारी रुद्राक्षको बगानमै पसेर खरिद हुने थालेपछि रुद्राक्षको मूल्य र माग बढेको छ । पछिल्लो समय चिनियाँ व्यापारी संखुवासभाको सदरमुकाम खाँदबारी र तुम्लिङटारका होटल र व्यक्तिका घर भाडामा लिएर बस्ने गरेका छन् ।
तर पछिल्ला केहि वर्षमा चिनियाँ व्यापारीले गोलो, चिल्लो, मिलेको, बुट्टादार र शरीरमा पहिरिँदा पनि नबिझाउने किसीमका दाना मात्र रोजेर लैजान थालेका छन् । गुणस्तरीय रुद्राक्षले अहिले पनि राम्रो भाउ पाउने व्यापारी बताउँछन् । स्थानीय व्यापारीका अनुसार ४, ५ र ६ मुखे दानाको गुणस्तर हेरेर प्रतिकिलो १५ रुपैयाँदेखि डेढ लाख रुपैयासम्म खरिदविक्रि हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार