किन गायक गंगा बरदानमाथि कुटपिट, यस्तो छ कारण !

  सिलिचुङ समाचारदाता

मोरङ । मोरङको बेलबारी नगरपालिकामा आइतबार दिउँसो गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि कुटपिट भएको छ । बेलबारी २ मा रहेको घरबाट पत्नी सहित ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बसमा चढेर धरान जाने क्रममा बसका कन्डक्टर, सहचालक समेतले कुटपीट गरेको प्रहरीले जनाएको छ । काँकडभित्ताबाट धरानतर्फ जाँदै गरेको बसका कन्डक्टर मोरङ उर्लाबारी नगरपालिकाका २० वर्षीय रोशन श्रेष्ठ, सहचालक झापाको दमक नगरपालिका १० का २१ वर्षीय सुजन श्रेष्ठ समेतले बेलबारीको लालभित्तीमा पुगेपछि कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए ।

कुटपिटबाट गायक श्रेष्ठको कन्चट फुटेको छ भने निधारको वायाँ भाग सुन्निएको छ । गायक श्रेष्ठमाथि कुटपिट गरेर भागेको यात्रुबहाक बस, बसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका ३ का २६ वर्षीय निरन घिमिरे र सहचालक सुजन श्रेष्ठलाई प्रहरीले मोरङको गछियाबाट नियन्त्रणमा लिएको छ । कन्डक्टर रोशन श्रेष्ठ भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बसमा बस्ने सिटको विषयमा विवाद भएपछि श्रेष्ठमाथि कुटपिट भएको खुलेको छ । बसका कर्मचारीले बस भित्रै कुटपिट गर्न थालेपछि यात्रुहरुमा समेत खैलाबैला मच्चिएको थियो । बसमा यात्रा गरिरहेका यात्रुहरु समेत त्यहाँबाट ओर्लिएर कुटपिटमा संलग्नमाथि कारवाही हुनु पर्ने माग गर्दै इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेका थिए । गायक बरदानकाे छपनीले छान छान बाेलकाे गीत चर्चित रहेका छन् ।

भिडियाे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार