विद्यार्थी संगठनद्वारा सिडिओको ध्यानाकर्षण

  सिलिचुङ समाचारदाता

भोजपुर । भोजपुरका चार विद्यार्थी संगठनहरुले जिल्लाको जनसरोकारका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौड्याललाई बुझाइएको ८ वुँदे ज्ञापन पत्रमा शैक्षिक तथा अन्य सरोकारका विषय समेटिएको छ ।

अनेरास्ववियू, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र विप्लव नेतृत्वको अखिल क्रान्तिकारी गरि ४ विद्यार्थी संगठनको ज्ञापन पत्रमा सरकारी कर्मचारी तथा जनप्रतिनिधीका छोराछोरीलाई विद्यालय शिक्षा अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने भनिएको छ ।

त्यस्तै जिल्लामा खाना पकाउने ग्याँसको मुल्य बढि भएकाले समायोजन गरिनुपर्ने, यातायातको भाडादर एकरुपता बनाउने सँर्ग विद्यार्थी वर्गले छुट पाउनुपर्ने, सरकारी नम्बरप्लेटका सवारीको दुरुपयोग रोकिनुपर्ने, डेढ वर्षअघि प्याउलीमा भएको ३ जना बालबालिकाको हत्याका दोषीलाई सार्वजनिक गरि कारवाही गर्नुपर्ने, बजार क्षेत्रलाई नगर मापदण्ड अनुसार बनाइनुपर्ने र बजार अनुगमनलाई नियमित गरिनुपर्ने विद्यार्थी संगठनको माग छ ।

सचेत विद्यार्थीको नाताले जनसरोकारका विषय उठाउनु आफूहरुको दायित्व भएकाले प्रशासनको ध्यानाकर्षण गराइएको अनेरास्ववियू भोजपुरका अध्यक्ष धुर्वराज राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार