बेरोजगारलाई २५ दिनको रोजगार

  सिलिचुङ सम्बाददाता

षडानन्द नगरपालिका दिङ्लास्थित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत छनौटमा परेका स्थानीयहरु बाटो मर्मत गर्ने काम गर्दै । तश्विर, सिलिचुङ

 

भोजपुर । भोजपुरका तीन स्थानीय तहले ३ सय ४६ जनालाई रोजगार प्रदान गरेको छ । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र अरुण गाउँपालिकाले योेग्य ईच्छुकहरुलाई २५ दिनको रोजगार प्रदान गरेको हो ।
गाउँपालिकामा बेरोजगार र काम गर्न ईच्छुक जनाउँदै फारम भरेपनि तोकिएको १ सय दिनसम्म पनि कुनै रोजगारमा संलग्न नभएको आधारमा छनौट गरी स्थानीयलाई रोजगार प्रदान गरिएको हो । रोजगार कार्यक्रम अन्र्तगत षडानन्द नगरपालिकाका १४ वटै वडाबाट १ सय ७९, साल्पासिलिछो गाउँपालिकाका २ र ३ वडाबाट ४० र अरुण गाउँपालिकाका ७ वटै वडाबाट १ सय २७ गरी कुल ३ सय ४६ जनालाई रोजगार प्रदान गरिएको हो । उनीहरुलाई दैनिक ५ सय १७ रुपैँया तलब हुने गरि कृषि, सडक, वातावरण, बन लगायतका क्षेत्रमा काम गर्ने अवसर प्रदान गरिएको छ ।

तोकिएको १ सय दिनसम्मको समयमा पनि कुनै क्षेत्रमा नजोडिएपछि बेरोजगार फारमसुचि भर्ने ईच्छुकहरुलाई कार्यक्रम अन्र्तगत उनीहरुको योग्यता अनुसारकै क्षेत्रमा रोजगार प्रदान गरिएको हो ।

आफ्नो दक्षता अनुसारको बाटो खन्ने काम पाएपछि षडानन्द नगरपालिका ३, खार्तम्छाका मणिराम भट्टराईले फुर्सदको समय उपलब्धीमूलक भएको बताए । आफ्नो दक्षता अनुसारको कामले बेरोजगारीलाई सुनौलो अवसर प्रदान गरेको उनले बताए । त्यस्तै षडानन्द नगरपालिका ८, तुङ्गेछाकी फुलकुमारी विकले स्वरोजगार कार्यक्रमले आफु जस्ता बेरोजगारीलाई कामप्रति उत्साह र हौसला मिलेको सुनाईन् । भनिन्, ‘पहिल्यै यो कार्यक्रम आएको भए हाम्रा दाजुभाई विदेशिनु पर्ने थिएन । यहि केहि गर्ने अवसर पाउँथे ।’
तोकिएको समयमा पनि कुनै क्षेत्रमा नजोडिएपछि बेरोजगार फारमसुचि भर्ने ईच्छुकहरुलाई कार्यक्रम अन्र्तगत उनीहरुको योग्यता अनुसारकै क्षेत्रमा रोजगार प्रदान गरिएको षडानन्द नगरपालिकाकी उपमेयर मेरिका राईले बताईन् । भनिन्, ‘फारम भरेको सयदिनमा कुनै काममा संलग्न हुन नसकेपछि उनीहरुलाई यो अवसर प्रदान गरिएको हो । २५ दिन भएपनि दक्षता अनुसारको रोजगारीमा संलग्न गराएर सन्तुष्टी दिलाउनु पनि यो कार्यक्रमको एउटा प्रमुख पाटो हो ।’ सरकारले जारी गरेको कार्यक्रमबाट बेरोजगार जनताका लागि यो निकै उपलब्धीमूलक भएको उनले बताईन् ।
छनौटमा परेकाहरुलाई सार्वजनिक स्थानमा सरसफाई, सडक, बाटोघाटो मर्मत, बृक्षरोपण गर्ने, सडकका नाली खन्ने, सफा गर्ने जस्ता सामुदायिक पुर्वाधारका कामहरुमा संलग्न गराईएको छ । यो बाहेक उनीहरुको कार्यदक्षता अनुसार आवश्यकता र कामको प्रकार हेरी विद्यालय, वन तथा वातावरणका क्षेत्रमा पनि रोजगार प्रदान गरिएको अरुण गाउँपालिका प्रमुख गजेन्द्र बहादुर कार्कीले बताए । गाउँपालिका क्षेत्रभित्रका गरिब, बेरोजगारी, पारीवारीक अवस्था कमजोर भएकालाई विशेष प्राथमिकता दिईएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार