अवैध गर्भको जिम्मा लगाउन ८० हजारको प्रलोभन, अवैध गर्भको मोलमोलाई गरेर आरोपी फरार

  सिलिचुङ समाचारदाता

 

भोजपुर । एक सुस्त मनस्थितीकी महिलाको अवैध गर्भको जिम्मा लगाउन पैसाको मोलमोलाई भएको छ । घटना सुन्दा अनौठो र अमानवीय लागेपनि यो सत्य हो । भोजपुर नगरपालिका ११, आम्तेककी २५ वर्षिया राममाया (नाम परिवर्तन) लाई अवैध गर्भवती बनाएका स्थानीय ‘राजन’ भनिने मोहनलाल बास्तोला स्वयम्ले अवैध गर्भको जिम्मा लगाउन एक अपांग युवकलाई ८० हजार रकमको प्रलोभन देखाएको घटना बाहिर आएको हो । अवैध गर्भवती बनाउने आरोपित मोहनलालले महिलाको जिम्मा लगाउन मोलमोलाई गरेको थाहा पाएपछि पिडित महिलाका माईती पक्षले दोषीको कारबाहीका लागि प्रहरीमा दिएको उजुरीपछि घटना बाहिर आएको थियो ।

‘‘अवैध गर्भवती बनाउने मोहनलालले ती अपाङ्गता भएका युवक र तिनको परिवारलाई ललाईफकाई गरी महिलाको जिम्मा लगाएर फरार भएको पिडित परिवारको गुनासो छ ।’’

गत वैशाखमा अवैध गर्भ बोकेको थाहा पाएपछि पिडित महिलाका माईती पक्षले जनप्रतिनिधी र प्रहरीमा गुहारेका थिए । सोधपुछपछि गर्भवती बनाउने बास्तोलाले आफुले गर्भवती बनाएको स्विकार्दै अवैध गर्भको जिम्मा लिएका थिए । तर ८ महिनाको अवैध गर्भ बोकेकी ती महिलाको जिम्मा लगाउन आरोपित मोहनलालले एक अपांगता भएका अरुण गाउँपालिका ५, याकुका एक युवकलाई पैसाको प्रलोभनमा फसाएको घटना बाहिर आएको हो । गर्भको जिम्मा लगाउन गर्भवती बनाउने व्यक्तिले एक अपांग युवकलाई रकमको प्रलोभन देखाएको यो घटना पहिलोपटक हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरका अनुसार घटनामा आरोपित बास्तोला भने महिलाको जिम्मा लगाएर फरार छन् । उनको खोजी भईरहेको छ । यसअघि पनि पहिलो बिहे गरेकी ती महिलाको ५ वर्षको छोरोसहित माइतमा बस्दै आएकी थिइन् । सोधपुछका क्रममा पिडित महिलाले मोहनलालले आफुलाई जिम्मा लिएपनि घर नलगी तिवारीभञ्ज्याङ्गको साबुङमा लगेर एक साता राखेको बताएकी छन् । उनको दिमागी हालत सुस्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।
विवाहित रहेका मोहनलालले ती अपाङ्गता भएका युवक र तिनको परिवारलाई ललाईफकाई गरेर ती महिलाको जिम्मा लगाएर गएको पिडित युवकको परिवारको गुनासो छ । पिडितका आमा भन्छिन्, ‘८० हजार रकम दिन्छौ बिहे गर्नुप¥यो भने । छोरा अपाङ्ग छ सहारा पनि चाहिएको थियो हुन्छ भनिम् । अहिले पो थाहा भयो केटीले अर्काको गर्भ बोकेकी रैछे, पैसा पनि दिएनन् ।’ गुपचुप भईसकेको घटनामा अवैध गर्भको जिम्मा लगाएको एक महिनामै महिलाको गर्भ निकै महिना पुगिसकेको थाहा पाएको, आरोपित मोहनलालले कबोल गरेअनुसारको पिडित युवकको परिवारले पैसा नपाएको र माइती पक्षले खोज्दै जाँदा अर्कैलाई जिम्मा लगाएको खबर पाएपछि घटना बाहिर आएको हो ।
आर्थिक मामिलामा कमजोर दुवै पिडित परिवारहरु अड्डा अदालत धाउने, मुद्दा मामिला गर्ने पहुँच र पैसा नभएको गुनासो गर्छन् । प्रहरी प्रशासनले समेत आफूहरुलाई परेको मर्कालाई गम्भीर नलिएको उनीहरुको गुनासो छ । छोरीचेलीलाई जिम्मा लिएर विचल्ली पारेर अर्कैलाई ‘वस्तुभाउ विक्री गरे’ जस्तो बाटोमै बेचेर हिड्ने मोहनलाल र त्यसमा संलग्नलाई कारवाही गर्नुपर्ने र पिडित महिलाको संरक्षण गरिदिनुपर्ने माइती पक्षको माग छ ।

कानुनी जटिलता के छ ?
डिएसपी नरबहादुर सलामी मगरले घटनालाई नियाल्दा केहि कानुनी जटिलता देखिएको बताए । ‘मोहनलाललाई बहुविवाहको मुद्दा शुरु गर्दा महिला अर्कैसँग गईसकेको देखिन्छ र जिम्मा लगाउन समाज नै साक्षी बसेको छ । उनीहरु सबै दोषी देखिन्छन् ।’ डिएसपी मगरले भने, ‘अवैध गर्भ बोकाएकाले जबरजस्ती करणीमा मुद्दा शुरु गर्दा पिडित महिला जिम्मा लगाएको अपांग केटासँग छिन् । मानव बेचविखनमा मुद्दा शुरु गर्दा महिलाको साथमा रहेका अपाङ्ग युवकसमेत दोषी देखिन्छ ।’ डिएसपी मगरले प्रारम्भिक अनुसन्धानमा फरार रहेका मोहनलाल र केहि व्यक्ति दोषी देखिएकाले उनीहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरीले पहल थालिसकेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार