नेकपामा स्थायी समिति र केन्द्रीय कमिटी बोलाउन दवाव

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाउन माग उठेको छ । नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले राजनीतिक कार्यदिशामा छलफल गर्न पनि केन्द्रीय कमिटीको बैठक आश्यक रहेको बताए । उनले केन्द्रीय कमिटी बैठक बस्नु अगाडि स्थायी समितिको बैठक बसेर एजेण्डाहरू तय गर्न केन्द्रीय कार्यालयलाई सुझाव दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपाका नेता ज्ञवालीले पार्टीले मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)लाई नछाडेको बताए । ‘हामीले अझै जबजलाई छाडेका छैनौँ’, उनले भने, ‘यो विषयमा तयार पारिएको राजनीतिक दस्तावेज मैले पनि पढेको छु । जबजलाई हटाइएको छैन ।’

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा दुबै पार्टीले राजनीतिक कार्यदिशालाई थाँती राखेर महाधिवेशनबाट टुंगो लगाउने बताएका थिए ।

पार्टीका समायोजन र जिम्मेवारी दिन बाँकी विषयलाई पनि ढिला नगरेर टुंगाउनुपर्ने नेता ज्ञवालीले बताएका छन् । ‘पार्टी संगठन भताभुङ्ग हुने अवस्थामा पुगेको छ’, उनले भनेका छन्, ‘नेताहरूलाई जिम्मेवारी दिएर काममा लगाउनुपर्छ ।’

स्थायी समिति सदस्य ज्ञवालीले लामो समयदेखि केन्द्रीय कमिटीको बैठक बस्न नसक्दा केन्द्रीय सदस्यहरूमा पनि अलमलको भावना बढ्दै गएको बताएका छन् ।

केही युवा नेताहरूले केन्द्रीय कमिटीको मागसहित हस्ताक्षर अभियान चलाए पनि त्यो अभियान अहिले शून्य सरह बनेको छ । अभियानले केन्द्रीय नेतृत्वलाई दवाव नपुगेको चर्चा हुन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार