भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले बुधबार नेत्रविक्रम चन्द नेतृत्वको विप्लव कार्यकर्तालाई नियन्त्रण गर्न खोज्दा भएको दोहोरो मुटभेटमा एक प्रहरी जवान र एक विप्लव कार्यकर्ताको घटनास्थलमै मृत्यू भएको छ ।
विप्लव कार्यकर्ताले चलाएको गोली लागेर हलेसी तुवाचुङ्ग नगरपालिका–३, च्यास्मिटारका प्रहरी जवान (सिआइबी) सञ्जिव राई र प्रहरीको जवाफी फायरिङमा गोली लागेरै विप्लव कार्यकर्ता भोजपुर षडानन्द नगरपालिका –१३ बोयाका ओखलढुङ्गा ईन्चार्ज निरकुमार राईको घटनास्थलमै मृत्यू भएको प्रहरी जनाएको छ । मुटभेटमा अर्का प्रहरी जवान खेमनाथ भट्टराई घाईते भएका छन् ।
गस्तीमा हिँडेका दुई प्रहरी जवान भोजपुर नगरपालिका ७, हटियालाईनस्थित स्थानीय पाँचधारे होटलमा पुग्दा विप्लव कार्यकर्ता निरकुमारलाई पहिचान गरेपछि उनलाई नियन्त्रणमा लिन खोज्दा हातापायी भएको थियो । हातापायीपछि कार्यकर्ता निरकुमारले पेस्तोल झिकेर गोली हानेपछि छातीमा गोली लागेका सञ्जिव राईको घटनास्थलमै मृत्यू भएको थियो । जवाफी फायरिङ खोलेको प्रहरी गस्तीको गोली लागेर निरकुमार पनि ढलेका थिए । गोली लागेर ढलेका निरकुमारले अत्याधिक रक्तश्रावले उनको पनि घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
एक प्रत्यक्षदर्शीका अनुसार प्रहरी जवान सञ्जिव र विप्लव कार्यकर्ता निरकुमार राई उक्त पाँचधारे होटलमा चिया पिँउदै बसेका थिए । चिया गफ सकेर होटल बाहिर निस्केर निरकुमार ‘पिसाब गर्न जान्छु’ भनी जान खोजेपछि ‘मेरो साथि आउँदैछन्, संगै निस्किनुपर्छ ।’ भन्दै प्रहरी जवान सञ्जिवले बाँया कुममा अंगालो हाल्न खोज्दा निरकुमारले आफ्नो साथ भएको पेस्तोलबाट सञ्जिवका बायाँ (मुटु भएको साईड) कोखामा गोली प्रहार गरेका थिए । गोली लागेपछि उनी घटनास्थलमै मृत्यू भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार सञ्जिव ढलेपछि निरकुमार भाग्न खोज्दा सञ्जिव अर्का प्रहरी जवान खेमनाथ भट्टराईले पक्रेर लडाएपछि उनलाई घुँडामा गोली प्रहार गरेको र अन्य प्रहरीहरु आएर भुँईमा लडाएर अस्पताल लाने तयारीमा उनको पनि त्यहि मृत्यू भएको थियो । घटनाको प्रकृति हेर्दा निरकुमार र सम्भावित अन्य विप्लव समुहहरु आक्रमण गर्ने नियतीले भोजपुर सदरमुकाम छिरेको डिएसपी नरबहादुर सलामीमगरको भनाई छ । ‘गस्तीमा हिँडेका हाम्रा प्रहरी जवानले विप्लव कार्यकर्ताको पहिचान गरि नियन्त्रण लिन खोज्दा उल्टै हातपात गरे । हातापायी पछि ती निरकुमारले पेस्तोल झिकेर सञ्जिवलाई गोली हानेपछि जवाफी फायरिङमा उनलाई पनि गोली लागेको हो ।’ डिएसपी मगरले भने, ‘यसरी साथैमा हतियारसहित हिँडडुल गर्दा नियोजित रुपमा आक्रमण गर्ने मनसायले सदरमुकाम छिरेको हुनुपर्छ । अन्यको पनि खोजी अनुसन्धान गर्दैछौ ।’
निरकुमारसंगै आक्रमण गर्ने मनसायले सदरमुकाम छिरेका अन्य ४ जना भने भागेको हुन छसक्ने डिएसपी मगरले बताए । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । घटनापछि जिल्ला बाहिरीने र भित्रिने प्रमुख गन्तव्य, नाकाको सुरक्षामा कडाई गरिएको प्रजिअ नुरहरि खतिवडाले बताए । मृतक प्रहरी जवान सञ्जिवको शवलाई धरानस्थित बस्दै आएका उनको परिवारको जिम्मा लगाईएको छ र विप्लव कार्यकर्ता निरकुमारको शवलाई उनको परिवार बोलाएर जिम्मा लगाउने तयारी भईरहेको डिएसपी मगरले बताए ।
घटनापछि स्थानीय त्रसित
बुधबार प्रहरी र विप्लव कार्यकर्ताविचको मुटभेटमा प्रहरी जवान र विप्लव कार्यकर्ता मारिएपछि स्थानीयबासीमा त्रास छाएको छ । १० वर्षे शसस्त्र द्वन्दको चपेटाबाट उम्किएपनि त्यहि स्थितीमा पुनः धकिलिन सक्ने त्रास छाएको स्थानीय प्रताप तामाङ बताउँछन् । ‘सदरमुकाममै यत्रो घटना घट्नु चानचुने होईन । यसले मुलुकलाई फेरि त्यहि द्वन्दकाल खण्डमा पुनः धकेल्छ भन्न सकिन्न ।’ उनले भने । घटनापछि सदरमुकाममा प्रत्येक गल्ली, चोक, सार्वजनिक स्थलमा शसस्त्र प्रहरीको गस्ती खटार्ईएको छ । उक्त घटेको घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि करिब ५ सय मिटर दुरीमा रहेको छ ।
बुधबार भोजपुर सदरमुकामको हटियालाईनस्थित प्रहरी–विप्लवविचको मुडभेटका क्रममा एक प्रहरी जवान र एक विप्लव कार्यकर्ताको मृत्यू भएपछि जिल्ला अस्पताल परिसरमा उपस्थित नेपाली प्रहरी र सर्वसाधरण र घटनास्थल ।