भोजपुरका सिंचाई डिभिजन इन्जिनियर १ लाख ८० हजार घुससहित पक्राउ

३० असार, भोजपुर । भोजपुर सदरमुकामस्थित सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुखलाई १ लाख ८० हजार घुस रकमसहित अख्तियारले रंगेहात पक्राउ गरेको छ ।
प्रदेश नं. १ मातहत रहेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिंदै गर्दा सोमबार मध्यान्ह १२ बजेतिर पक्राउ गरिएको हो । षडानन्द नगरपालिका वडा नं. १३ स्थित छाँगे खोला सिंचाई आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफराक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्ष लगायत पदाधिकारीबाट इन्जिनियर यादवले सो रकम लिएको बताइएको छ ।
करिब ९८ लाख लागत अनुमान रहेको सो सिंचाई आयोजनाको यो वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैंयाको काम गर्ने गरि सम्झौता भएको कार्यालय स्रोतले जनाएको छ । उपभोक्ता समितिका एक सदस्यका अनुसार इन्जिनियर यादवले २० प्रतिशत कमिशन दिए मात्र मुल्यांकन गरि बील पास गरिदिने बताउँदै आएका थिए ।
आर्थिक वर्षका अन्त्यमा कार्यालयमा उपभोक्ताहरुको कामको चापलाई छाडेर हिंडेका इन्जिनियर यादव कार्यालय नजिकै रहेको फुपु भदैनी खाजा घर एण्ड लजमा घुस रकम लिन पुगेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले सोहि होटलमा उनीहरुलाई रंगेहात पक्रेको हो ।
भोजपुर नगरपालिका वडा नं. १० भैसिपंखा खुरिलास्थित सिंचाइ आयोजनाको भुक्तानी तथा फरफराकमा समेत इन्जिनियर यादवले आलटाल गरेपछि आफूले वाध्य भएर अख्तियार गुहार्नुपरेको र भ्रष्टाचारीलाई नंग्याइएको सो सिंचाईका उपभोक्ता एवं नेपाली कांग्रेस भोजपुरका सचिव चक्रबहादुर कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार