भोजपुरमा पहिरोबाट सय घरपरिवार विस्थापित, कष्टकार रात काट्दै पिडित

  सिलिचुङ समाचारदाता

भोजपुर । भोजपुमा पहिरोबाट १ सय घरपरिवार विस्थापित भएका छन् । गत हप्ता परेको लगातारको वर्षात्का कारण पहिरोले घर जाखिममा परेपछि ति परिवार विस्थापित भएको विपद व्यवस्थापन समितिले जनाएको छ । विस्थपित भएकाहरु पाल तथा छिमेकीको घरमा दु:खले रात काट्न वाध्य छन् ।


विस्थापितमध्ये भोजपुर नगरपालिकामा १४ घरपरिवार, ट्याम्केमैयुङ्ग गाउँपालिकामा २६, पौवादुङ्मा गाउँपालिकामा २, आम्चोक गाउँपालिकामा ४४, रामप्रसादराई गाउँपालिकामा ९, अरुण गाउँपालिकामा १, हतुवागढी गाउँपालिकामा ३ र साल्पासिलिछो गाउँपालिकामा १ रहेका छन् । त्यस्तै जिल्लाका विभिन्न स्थानीय तहमा १६ घर पूर्ण रुपमा क्षती भएका छन् भने ५८ घरमा आंशिक क्षती पुगेको विपद व्यवस्थापन समितिलका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।
पहिरोले घर पुरिंदा रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ्ग गाउँपालिकामा १ गरि जम्मा ५ जनाको ज्यान गएको छ । ३ जना घाइते छन् । स्थानीय तहहरुलाई आ–आफ्नो क्षेत्रमा भएको क्षतीको विवरण संकलन गरि पठाउन पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो । क्षती विवरण आउने क्रम अझै जारि रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मृतकका परिवारलाई प्रति मृतक १ लाख दिने नेपाल सरकारले घोषणा गरेको छ । घाइतेलाई राज्यले निशुल्क औषधोपचारको व्यवस्था गरेको छ । त्यस्तै घर पूर्ण क्षती भएकालाई १० हजार र आंशिक क्षतीलाई ५ हजार राहतस्वरुप दिने प्रावधान छ । बाढि पहिरोको जोखिममा परेर बस्नै नसक्ने अवस्था हुँदा अथवा अर्को घर बनाउनुपर्ने वाध्यता छ भने विशेष निर्णय गर्न सकिने कानुनी प्रावधान रहेको प्रजिअले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार