पूर्वएमालेका वरिष्ठ तीन नेताको जिम्मेवारी टुंगियो

नेकपामा पूर्वएमालेतर्फका तीन वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनालको जिम्मेवारी टुंगिएको छ । नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने गौतमलाई संगठन विभाग प्रमुख तोकिएको छ । खनालले नीति अध्ययन प्रतिष्ठानको नेतृत्व पाएका छन् ।बिहीबार राति र शुक्रबार बिहान बैठक बसेर पूर्वएमालेतर्फका ६ सचिवालय सदस्यले तीन नेताको जिम्मेवारी टुंग्याएका हुन् ।

नेकपामा ३२ विभागमध्ये पूर्वएमालेको भागमा १८ विभाग परेको छ ।  ‘हामीले महत्वपूर्ण  विभागको जिम्मेवारी कसलाई दिने टुंगो लगाएका छौँ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनालले भने, ‘अरू विभागको जिम्मेवारी पनि तत्काल निर्णय गरेर टुंग्याउँछौँ ।’ सबै विभागको टुंगो लगाई ५ साउनमा बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने खनालले बताए ।

स्कुलिङ विभागमा श्रेष्ठ र पोखरेलको दाबी
विभागको संख्यामा भागबन्डा मिले पनि कुन–कुन विभाग कसको भागमा भन्ने सबै टुंगो लाग्न सकेको छैन । त्यसैले महत्वपूर्ण  केही विभागमा पूर्वएमाले र पूर्वमाओवादीका नेताको दोहोरो दाबी छ । स्कुलिङ विभागमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठको दाबी छ ।  पोखरेलले सुरुदेखि संगठन विभागमा दाबी गरेका थिए । तर, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको दबाबमा वामदेव गौतमलाई जिम्मा दिएपछि पोखरेलले अहिले स्कुल विभाग रोजेका हुन् ।

पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठले भने सुरुदेखि नै स्कुल विभागको नेतृत्व माग गर्दै आएका थिए । ‘स्कुल विभाग पूर्वएमाले पाउने कि माओवादीले भन्ने टुंगो छैन,’ श्रेष्ठले भने, ‘अबको सचिवालय बैठकले टुंग्याउँछ । सो बैठकमा मैले पनि आफ्नो दाबी राख्छु ।’ पूर्वमाओवादीको भागमा अर्थ, प्रचारलगायत विभाग छन् ।

नेकपाको केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व पनि टुंगो लागेको छ । परिषद् अध्यक्षको जिम्मेवारी पूर्वएमालेबाट केशव बडाल र मञ्चको नेतृत्व पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन् । मञ्च र परिषद्मा पूर्वएमालेको एक सय २१ र माओवादीको सय सदस्य रहनेछन् ।

तीन आयोगमा पनि नेतृत्व छानियो
नेकपाका तीन आयोगमा पनि नेतृत्व टुंगो लागेको छ । लेखापरीक्षण आयोगमा डा. पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरालाई नेतृत्व दिने सहमति पूर्वएमालेका नेताबीच भएको छ । त्यस्तै, पूर्वमाओवादीको भागमा परेको निर्वाचन आयोगमा अमिक शेरचन छानिएका छन् । तीन आयोगमा नेतृत्व टुंग्याएको, तर पार्टीले आधिकारिक निर्णय गर्न बाँकी रहेको नेता अमृत बोहराले बताए ।

त्यस्तै, ७७ जिल्लामा पूर्वएमालेबाट ४६ र माओवादीबाट ३१ इन्चार्ज छानिएका छन् । २२ जनवर्गीय संगठनमा १६ पूर्वएमाले र ६ माओवादीले नेतृत्व पाएका छन् । ७७ जिल्ला कमिटीमा पूर्वएमालेले ४४ र पूर्वमाओवादीले ३३ जिल्लामा नेतृत्व पाएको छ । सात प्रदेशमा ६ इन्चार्ज पूर्वएमाले र एक माओवादीको भागमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार