काठमाडौं । प्रहरीले व्यापारीलाई प्रेमजालमा पारी नग्न भिडियो बनाउने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय विर्तामोडले उक्त गिरोहमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त गिरोहले व्यापारीलाई प्रेमजालमा पारी नग्न भिडियो बनाएर ४० लाख माग गरेको प्रहरीले दाबी गरेको छ ।
व्यवसाय गर्दै आएका एक व्यापारीलाई मायाजालमा पारी ४० लाख रकम फिरौति माग्ने एक युवतीसहित चारजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय विर्तामोडले जनाएको छ ।
पक्राउ पर्नेमा बिर्तामोड–४ का २९ वर्षीय मेराज, बिर्तामोड चारपाने बस्ने २० वर्षीया रितु फियाक लिम्बु, भारत पश्चिम बंगाल दार्जिलिङ खोरिबारीका सुजन शंकर र बिर्तामोड–४ का प्रकाश दास छन् ।
यसरी भएको थियो घटना
झापाको बिर्तामोडमा सीसा पसल चलाउँदै आएका रामप्रसाद (नाम परिवर्तन) लाई २८ असारमा जया खान नामक युवतीको फोन आएको थियो । सामाजिक सञ्जाल इमोमा आएको फोन रिसिभ गरेर उनीहरुबीच कुराकानी भयो ।
छोटो चिनजानमै नजिकिएका उनीहरुबीच भिडियो कल पनि भयो । पहिलो फोन आएको चार दिनपछि उनीहरुले भेट्ने सल्लाह गरे । भद्रपुर रोडमा रहेको कुमारी बैंक नजिकै भेटघाट तय भयो । रामप्रसादले १ साउनमा युवतीलाई भेटे ।
भेटपछि जयाले राति १० बजेतिर साथीको कोठामा जाउँ भन्दै रामप्रसादलाई लगेकी थिइन् । कोठामा पुगेर रामप्रसादले कपडा खोल्दै गर्दा २÷३ जना व्यक्ति कोठाभित्र प्रवेश गरे । उनीहरुले नग्न भिडियो र तस्वीर लिए ।
त्यसपछि सुरु भयो मोलमोलाई । ५० लाख रुपैयाँबाट सुरु भएको बार्गेनिङ ४० लाखमा टुंगियो । ‘सामाजिक सञ्जालमा हालेर भाइरल बनाइदिने भन्दै धम्की दिएको पाइएको छ’, झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले भने ।
५ गतेभित्र रकम बुझाउने सर्तमा उनी छुटे ।