षडानन्द नगरपालिकामा कर्मचारी समायोजनमा मेयर र प्रशासकिय अधिकृतको मनोमानी, कर्मचारी आन्दोलित

  सिलिचुङ समाचारदाता

भोजपुर । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नहुँदा उत्तरी षडानन्द नगरपालिकाको दैनिक कार्यसम्पादनमा समस्या हुने गरेको छ । सरकारी सेवा लिन सयौँ सर्वसाधरणहरु कार्यालयमा हाकिम नभेटेपछि उनलाई कुर्दाकुदै रित्तो हात घर फर्कने गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद कोईरालाको कक्ष खाली र ‘कार्यालय बाहिर’ नेमप्लेट झुण्डिएको सर्वसाधरणले गुनासो गरेका छन् ।
साना–साना सिफारिसमा हस्ताक्षर गर्न समेत दिनभर प्रशासकिय प्रमुख कोईरालाको कार्यालयमा कुर्नपर्ने बाध्यता रहेको षडानन्द नगरपालिका १४, बोयाका मानबहादुर तामाङले गुनासो गरे । उनले घरबाट हतारहतार गर्दै नगरपालिका धाएपनि नगरपालिका पुगेर हाकिम कुर्दाकुर्दै दिन विताउनुपर्ने नमिठो अनुभव सुनाए ।

सिफारिस, नक्शापास, योजना, लेखा, दर्ताचलानी लगायत सम्पूर्ण सरकारी कामका लागि प्रशासकिय प्रमुखलाई कार्यकक्षमै नभेट्ँदा सर्वसाधरणले झन मार खेप्नु परेको षडानन्द नगरपालिका ९, किमालुङका निमा शेर्पाले गुनासो गरे । प्रशासकिय प्रमुख कोईरालालाई कार्यालयमा नभेटेपछि सर्वसाधरण उनलाई फोन सम्पर्क गर्दै कार्यालय परिसरभन्दा बाहिर भेटेरै हस्ताक्षर गर्न, गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।
यता प्रशासकिय प्रमुख कोईरालाले आफ्नो कार्यालय समयमा सेवाग्राहीहरुको काममै व्यस्त रहने गरेको बताए । उनले अन्य समयमा योजना र बैठकका क्रममा बाहिर जानु परेको सुनाए । प्रशासकिय अधिकृत कोईराला गत भदौ १० गते मन्त्रालयको काम भन्दै काठमाडौँ लागेका छन् । स्पष्ट रुपमा कार्यालयमा कुनै जानकारी र कुनै निमित्त प्रशासकिय अधिकृत नतोकी नै काठमाडौँ गएको उपमेयर मेरिका राई बताईन् ।
षडानन्द नगरपालिकाका वडातहका कर्मचारीलाई मेयर र प्रमुख प्रशासकिय अधिकृतको आफुखुशी ढंगल नगरपालिका तानेको र नगरपालिकाका करार कर्मचारीलाई वडातहमा समायोजन गरेको खुल्न आएको छ । मेयर विरबल राई र प्रशासकिय अधिकृत विष्णुप्रसाद कोईरालाले कर्मचारी समायोजनमा मनोमानी गरेको भन्दै नगरपालिकाका करार कर्मचारीले आपत्ती जनाएका छन् ।

वडाका सचिवलाई नगरपालिका र करारमा नियुक्ती गरिएका नगरपालिकाका कर्मचारीलाई वडातहमा समायोजन गर्न प्रशासकिय प्रमुख विष्णुप्रसाद कोईराला र मेयर विरबल राईले गत साउन २६ गतेको नगरपालिकाको निर्णय भन्दै नगरपालिकाको सुचना पाटीमा सुचना प्रकाशित गरेका थिए । नगरपालिकाका करार कर्मचारीले कर्मचारी समायोजनप्रति आपत्ती जनाउँदै विज्ञप्ती समेत जारी गरेका छन् ।विज्ञप्तीमा कर्मचारीहरुको म्याद थप, एक कर्मचारीलाई एक जिम्मेवारी, दरवन्दी अनुसारको शाखागत जिम्मेवारी तथा सेवा क्षेत्र पायक पर्ने स्थानमामात्र जिम्मेवारी दिनको माग गर्दै  आन्दोलन गर्न वाध्य भएका हाै, सामाजिक परिचालक अर्जुन तामाङले बताए । तामाङले भने ‘कर्मचारीहरूलाई नियुक्ती पत्र नदिइ वडा कार्यालयमा खटाएकोले आन्दोलन गर्न वाध्य भएका हौ ।’

सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक समेत रहेका कार्यपालिका सदस्य भोजबहादुर भुजेलले प्रशासकिय प्रमुख र मेयर राईले आफुखुशी ढंगले कार्यपालिका बैठकको निर्णय गरेको आरोप लगाए । उनल भने, ‘कर्मचारीको विषय हेर्ने समितिको संयोजक म हुँ, मलाई नै कर्मचारी समायोजनको विषयमा कुनै थाहा छैन । कर्मचारीको बारेमा म्याद थपको मात्र कुरा उठेको हो निर्णय भएको छैन ।’
सुचनाबोर्डमा सुचना हालिए पनि कुनै कर्मचारीलाई व्यक्तिगत चिठ्ठी भने नदिइएको नगरपालिका उपप्रमुख मेरीका राईले बताईन् । उनले सुचनामा साउन २६ गतेको निर्णय लेखिएपनि कुनै निर्णय नभएको सुनाईन् । ‘सामाजिक परिचालकलाई पञ्जिकरण बिनाको वडा सचिवको काममा वडा तह पठाउँदा जनताले दुःख पाउँछन् । कसरी यो निर्णय गरियो ।’ उपमेयर राईले भनिन्, ‘पहिलो कुरा त अहिलेसम्म यस विषयमा कुनै निर्णय भएको छैन । निर्णय हेर्न खोज्दा मेयर राई र प्रमुख प्रशासकियले कार्यापालिका बैठकमा निर्णय दिन समेत मानेका छैनन् । मेयरको दोस्रो बरियताको व्यतिmलाई नै थाहा नदिई कसरी निर्णय भयो ।’
यता मेयर विरबल राईले नगरपालिकाको निर्णय अनुसार नै कर्मचारी समायोजन गरिएको बताए । वडामा कर्मचारी नभएकाले नगरपालिकाका कर्मचारीलाई समायोजन गरिएको उनले बताए । वडामा काम गरिरहेका वडा सचिवलाई नगरपालिकाका विभिन्न शाखामा जिम्मेवारी तोकिएको नगरपालिकाको सुचना पाटीमा देखाइएको छ । १४ वटा वडा रहेको उक्त षडानन्द नगरपालिकाले वडा तहका सचिवलाई नगरपालिका तानेपछि ग्रामिण सर्वसाधरणलाई घण्टौ पैदल धाएर नगरपालिका धाउनु परेको छ । वडा तहमा हुने कामका लागि उनीहरु दिनै माया मारेर नगरपालिका केन्द्र दिङ्लाबजार धाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार